logo
२०८० चैत्र १६ शुक्रवार



पार्टी एकता सम्भव छ तर गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

राष्ट्रिय |


पार्टी एकता सम्भव छ तर गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छः प्रवक्ता श्रेष्ठ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १२ गते । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दवाव कार्यक्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयनमा पार्टीले ध्यान दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी मुख्यालय पेरिसडाडाँमा बुधबार दिउँसो बसेको बैठकले सबै लोकतान्त्रिक पार्टीसँग सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पदबाट राजीनामा दिइनसक्नुभएकाले संसद बैठकबाटै प्रक्रियाअनुसार अगाडि बढ्ने विकल्प भएको बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले पार्टी एकताका पक्षमा अझै आफूहरु रहेको तर पार्टी एकतामाथि प्रहार गर्नेहरुले आत्मलोचना गर्नुपर्ने बताउनुभयो । “हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौं, आज पनि छौं तर गल्ती गर्नेले आफूलाई सुधार गर्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएर आत्मलोचना गर्नुभयो भने पार्टी एकताबारे छलफल गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिनिधिसभा पुनस्र्थापना भइसकेकाले राजनीतिक स्थिरताका लागि सबै लोकतान्त्रिक शक्तिहरु मिलेर अगाडि बढ्ने प्रयास आफूहरुले गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । संविधानको कार्यान्वयन होस्, राजनीतिक स्थिरता सुनिश्चित्ता होस, लोकतन्त्रको रक्षा होस् भन्ने पक्षमा आफूहरु रहेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?