logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस सभापति देउवासँग सहकार्य गरी अगाडि बढ्ने प्रचण्ड–माधवको प्रस्ताव

राष्ट्रिय |


काँग्रेस सभापति देउवासँग सहकार्य गरी अगाडि बढ्ने प्रचण्ड–माधवको प्रस्ताव


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज दिउँसो राजनीतिक परामर्श गर्नुभएको छ । दिउँसो बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा तीन नेताबीच छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार तीन जना नेताबीच करिब आधा घण्टा छलफल भएको हो । बैठकमा सभापति देउवासँग नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राजीनामापछि दुवै दल सहकार्य गरेर अघि बढ्ने प्रस्ताव प्रचण्ड–नेपालले राख्नुभएको स्वकीय सचिव देउवाले बताउनुभयो ।
“बैठकमा सभापति देउवालाई प्रधानमन्त्रीको अफर आएको हो ? ” जिज्ञासामा स्वकीय देउवाले भन्नुभयो, “प्रधानमन्त्रीको प्रस्ताव आएको होइन, पछिल्लो राजनीति घटनाक्रमलाई व्यवस्थापन गर्न दुवै दल मिलेर अघि बढ्नुपर्ने प्रस्ताव आएको हो ।” सभापति देउवाले पार्टीमा आन्तरिक छलफल गरेपछि मात्र के गर्ने भन्ने कुरा बताउन सकिने जवाफ दिनुभएको थियो ।
सभापति देउवाले विहीबार दिउँसो ३ बजेका लागि काँग्रेस पदाधिकारी बैठक आव्हान गर्नुभएको स्वकीय सचिव देउवाले जानकारी दिनुभयो । काँग्रेसको सो बैठकले पछिल्लो राजनीतिक विषयमा कसरी अगाडि बढ्ने बारेमा निर्णय गर्ने विश्वास सभापति देउवाले प्रचण्ड–नेपाललाई दिलाउनुभएको स्वकीय सचिव देउवाले बताउनुभयो । बैठक छाेटो समयका लागि भएकाले बाँकी थप छलफल काँग्रेसको निर्णयपछि पुनः बसेर गर्नेगरी बैठक आज सकिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?