logo
२०८० चैत्र १६ शुक्रवार



योङ ब्रदर्स फाइनलमा पुग्यो

खेलकुद |


योङ ब्रदर्स फाइनलमा पुग्यो


हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ), माघ १४ गते । टाइब्रेकरमा दूधे फुटबल क्लबलाई ४–३ गोल अन्तरले हराउँदै इलामको योङ ब्रदर्स फुटबल क्लब पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फाइनलमा बिहीवार आयोजक वाइएफसी र योङ ब्रदर्स शिरिजङ्घा आमने सामने हुनेछन् ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट अन्तिम निर्णय गरिएको हो । टाइब्रेकरमा योङ ब्रदर्स शिरिजङ्घाका दिवश गिरी ,राजकुमार कन्दङ्वा, सनम धिमाल र दीपेश धिमालले गोल गर्नुभयो । दुधे फुटबल क्लबका प्रितम लिम्बू ,रोजिन माझी,सुशील मगरको प्रहार मात्र गोलमा परिणत भयो । नितेश श्रेष्ठको पेनाल्टी प्रहार योङ ब्रदर्सका गोल रक्षक विशाल दर्लामीले नियन्त्रणमा लिनुभयो भने सञ्जीव बुढाथोकीले आउट हान्नुभयो । दुधेका दुई खेलाडीले पेनाल्टी मिस गरेपछि एउटा प्रहार बाँकी छँदै योङ ब्रदर्स फाइनल प्रवेश गरेको हो ।
यस अघि योङ ब्रदर्सका राजमुमार कन्दङ्वाको पासमा सनम भुजेलले दूधे बिरुद्ध गोल गर्दै खेलमा १–० को अग्रता कायम गर्नुभयो । लगतै १० औं मिनेटमा दूधेका मनीष लिम्बूले प्रहार गर्नुभएको फ्रिकिकलाई नियन्त्रणमा लिँदै विशाल दर्जीले उत्कृष्ट गोल गर्नुभयो ।
योङ ब्रदर्सका सनम भुजेल म्यान अफ द म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?