logo
२०८० चैत्र १६ शुक्रवार



कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम, श्रमिक असुरक्षित

अर्थ |


कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम, श्रमिक असुरक्षित


मुकुन्द गैरे
काठमाडौं, माघ ७ गते । कार्यस्थलमा काम गर्ने कामदारको लागि सुरक्षा उपकरणको प्रयोग गर्नु अनिवार्य मानिन्छ । कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि अधिकांश रोजगारदाताले लागू गरेको पाइएको छैन । विदेशमा कार्यस्थल सुरक्षालाई कडा रुपमा कार्यान्वयन गरेकोे भए तापनि नेपालमा भने सामान्य सुरक्षाका सामाग्री प्रयोग नगर्दा कामदारले वर्सेनि धेरैले ज्यान र अङभङ्ग हुने गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ रोजगारदाताले व्यावसायजन्य सुरक्षा का सामाग्रीलाई लगानीलाई खर्चको रुपमा हेरेको कारण दुर्घटना बढिरहेको बताउनुहुन्छ । कार्यस्थलमा रोजगारदाताले सुरक्षाका सामाग्रीमा सामान्य रुपमा खर्च नगरेकै कारणले कामदारले पञ्जा, हेल्मेट नै लगाउन नपाउँदा ज्यानै गुमाउनु परेको घटनाहरु देखिने गरेको बताउनुहुन्छ ।

सरकारी निकायले प्रभावकारी रुपमा अनुगमन र कारवार्ही नगरेको कारणले पनि कार्यान्वयनमा सुस्त रहेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । औपचारिक क्षेत्र युनियन भएका कार्यस्थल क्षेत्रमा दुर्घटनाका घटना कम भए तापनि युनियन नभएको क्षेत्रमा बढी घटनाहरु हुने गरेको मजदुर नेता श्रेष्ठको दावी छ ।

कार्यस्थल क्षेत्रमा हुने दुर्घटनाको कम गर्ने हो भने सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्ने अवस्था रहेको उहाँको भनाइ छ । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि वैदेशिक रोजगारीमा जाने कामदारको विषय सँगै स्वदेशमा रहेका श्रमिकको पनि अवस्थालाई उत्तिकै रुपमा फराकिलो तरिकाले सम्बोधन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

यो कोरोनाको महामारीमा समेत नेपालका काम गर्ने कामदारले रोजगारदाताले कार्यस्थलमा साबुन पानी, मास्क समेत व्यवस्था नगरी श्रमिकलाई आफैँ उपलव्ध गराउन दवाव दिइएको समेत आफुहरुले प्रत्यक्ष देखेको अध्यक्ष श्रेष्ठको भनाइ छ । रोजगारदाता जिम्मेवार नभएसम्म कार्यान्वयन नहुने र श्रमिकले सुरक्षाका सामाग्री उपकरण प्रयोग गर्न मान्दैनन् भन्नु सत्य नभएको उहाँको दावी छ । आफूले काममा लगाएपछि कामदारको कार्यस्थलमा सुरक्षा दिने कर्तव्य रोजगारदाताको भए तापनि रोजगारदाता यस विषयमा गम्भीर नबनेको उहाँ बताउनुहुन्छ ।

नेपालमा कार्यरत कामदार शिक्षामा समेत कमजोर भएकै कारण सचेतनाका कार्यक्रम बढाउन आवश्यक भएको उहाँ बताउनुहुन्छ । बाहिरी देशमा मजदुर र मालिक चिन्न सकिँदैन उनीहरले लगाउने पोशाक र कार्यस्थलका सुरक्षा का सामाग्री नै एकै प्रकारको रहने गरेको अवस्था छ । तर समग्रमा हेर्दा पहिलाको तुलनामा कार्यस्थलका घटनामा केही कमी आए पनि तुलनात्मक रुपमा कमी आउन नसकेको उहाँको भनाइ छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल कार्यस्थलको सुरक्षाको अवस्थामा नेपालका मजदुरहरु नाजुक अवस्थामा काम गरिरहेको उहाँ बताउनुहुन्छ । ग्रिल तथा स्टिल क्षेत्रमा काम गर्दा सामान्य पञ्जा, बेल्ट, चस्मा प्रयोग नगर्दा दुर्घटनामा पर्ने गरेको अध्यक्ष कटुवाल बताउनुहुन्छ ।

श्रमिकको सुरक्षा व्यावस्था गर्न उद्योग प्रतिष्ठानहरु चुकेको उहाँले बताउनुभयो । नेपालका ठूला साना सबै कार्यक्षेत्रमा व्यापक प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको अध्यक्ष कटुवाल बताउनुहुन्छ । दुर्घटना भएपछि उद्योग सिल गर्नु भन्दा पनि घटना हुन नदिने गरी काम गर्नु पर्नेमा उहाँको जोड छ ।

सामान्य सुरक्षा सामग्री प्रयोग नगर्दा दीर्घकालीन रुपमा पनि मानिसको स्वास्थ्यमा तत्कालै र दीर्घकालीन रुपमा असर देखिएको उहाँको विश्लेषण छ । सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरिवाना र बाध्यकारी नियम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
कुनै पनि उद्योग प्रतिष्ठानको उद्योग दर्ता गर्दा वा नवीकरण गर्दा सुरक्षालाई कार्यान्वयन नगर्नेलाई कारवार्ही व्यवस्था भएमा अलि प्रभावकारी हुनेमा उहाँको जोड छ ।  श्रमिकले पनि सुरक्षाका सामाग्री नलगाउनेलाई कारबाही गरियो भने दुर्घटनामा कमी आउनेमा उहाँको भनाइ छ । ग्रिल तथा स्टिल क्षेत्रमा काम गर्ने कामदारले सामान्य सुरक्षाका उपकरण प्रयोग नगरेकै कारण पाँच वर्षमा ८७ जना नेपालीले ज्यान गुमाएको र अङग भङ्ग हुनेको संख्या अधिक रहेको उहाँ बताउनुहुन्छ ।

श्रम तथा व्यावसायजन्य सुरक्षा विभाग निर्देशक दीपक के.सी साधन स्रोतको कमी भए पनि अनुगमन भइरहेको र घटनामा कमी आउने गरी काम गरिरहेको बताउनुहुन्छ । कोरोनाको समयमा अनुगमनमा कमी भए पनि अहिले अनुगमन सुरु गरिरहेको निर्देशक के.सी बताउनुहुन्छ । विभागले ११ वटा नेपालका क्षेत्रीय कार्यालयमार्फत् काम गरिरहेको उहाँ बताउनुहुन्छ ।

नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंह कार्यस्थलमा दुर्घटना कम गर्न प्रोजेट बनाउँदादेखि नै सुरक्षाको खर्च राखे मात्र कार्यान्वयन हुने बताउनुहुन्छ । कार्यस्थलको सुरक्षाको सामाग्रीको खर्च व्यवस्था नभए जति कुरा गरे पनि व्यवहारिक रुपमा कार्यान्वयन नहुने उहाँको भनाइ छ ।
दुर्घटनामा रोजगारदातालाई दोष दिन भन्दा पनि सबै निकाय जिम्मेवारी हुन आवश्यक रहेको अध्यक्ष सिंह बताउनुहुन्छ । देशका पालिकास्तरमा सचेतनाका कार्यक्रमसँगै काम गर्ने कार्यस्थलको लागि सुरक्षा सामाग्रीको लागि बजेटको व्यवस्था गर्नु पर्नेमा उहाँको जोड छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप