logo
२०८० चैत्र १६ शुक्रवार



पृथ्वीनारायण गर्व गर्न लायक अभिभावकः पर्यटनमन्त्री ढकाल  

राष्ट्रिय |


पृथ्वीनारायण गर्व गर्न लायक अभिभावकः पर्यटनमन्त्री ढकाल  
फाईल तस्विर


काठमाडौँ, पुस २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभएको छ ।    
पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गर्नुभयो ।    
    
 मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिनेछ र सम्झिरहेको छ ।”    
    
 सत्ता स्वार्थका लागि विखण्डन गर्नु हुदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने उहाँको भनाइ छ । पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।    
    
 मन्त्री ढकालले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँले राष्ट्रनिर्माण गर्ने अग्रज अभिभावकको योगदानलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यस कार्यमा प्रष्ठिानलगायत संस्था र अभियन्ताको सहकार्य जरुरी भएको बताउनुभयो ।    
    
 मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइए पनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा हिन्दू धर्ममाथि अतिक्रमण भयो भन्ने बुझाइ गलत हो । सार्वभौमसत्ता सम्पन्न संविधानसभाले निर्माण गरेको संविधानलाई एकपटक पढियो भने कुनै अन्योल रहने छैन । राज्य धर्मनिरपेक्ष हुन्छ, व्यक्तिको धार्मिक स्वतन्त्रताको राज्यले जिम्मा लिन्छ । संविधानमै प्राचीन परम्परागत ढङ्गले चलेका सनातन धर्मको राज्यले नै संरक्षण गर्छ भनेको छ । बलजफ्ती धर्म परिवर्तनलाई भने दण्डित गरेको छ । त्यसैले संविधान र कानूनले परम्परागत धर्म कर्मलाई बर्खिलाप गरेको छैन ।”    
    
 नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायणको एकीकरण अभियानलाई बुझेर अघि बढ्न सके मात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो । जटिल भूराजनीतिक अवस्थामा रहेको नेपाल राष्ट्रलाई स्वाभिमान, स्वतन्त्रता र सार्वभौम बनाउन पृथ्वीनारायणले खेलेको भूमिका र शासन सञ्चालनका विधि र पद्धतिलाई अनुशरण गर्न सकेको खण्डमा नेपालको हितकारी हुने धारणा राख्नुभयो । उहाँले राज्य भागबन्डा गर्ने हैन, स्वार्थबाट अलग रहेर राष्ट्रको विकासमा दत्तचित्त भएर लाग्नुपर्ने पृथ्वीनारायणको प्रेरणालाई आजको सन्र्दभमा पनि उपयोग गर्न जरुरी छ भन्नुभयो ।    
    
 प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको चरित्रलाई विकास गर्न नसकेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको दाबी गर्नुभयो । उहाँले पृथ्वीनारायणको विचार र चरित्रलाई आत्मसात् गरेको खण्डमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।    
    
 प्रा डा टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पृथ्वीनारायणले आर्थिक र सामाजिक सङ्कटलाई पार गर्दै एकीकरण अभियानमा गरेको मिहिनेत र सङ्घर्षको योगदानलाई आधुनिक पुस्ताले भुल्न नहुने बताउनुभयो । उहाँले नुवाकोट पृथ्वीनारायणको एकीकरण अभियान महत्वपूर्ण रहेको र उहाँको कर्मभूमि पनि भएकाले एकीकरणसँग जोडिएका सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । प्राज्ञ प्रा दिनेशराज पन्तले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायणले गरेको योगदानको स्मरण गर्नुभयो ।    
    
 सो अवसरमा मन्त्री ढकालसहित प्राज्ञ सदस्यलगायत विशिष्ट व्यक्तिले पृथ्वीनारायणको तस्बीरमा माल्यार्पण गर्नुभएको थियो । यसैबीच एकता दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञाभवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको प्रतिष्ठानका कुलपति उप्रेतीले उद्घाटन गर्नुभएको थियो । प्रतिष्ठानका चर्चित नयाँ तथा पुराना प्रकाशनहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी अवधिभर १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?