logo
२०८१ बैशाख ११ मंगलवार



क्षतिग्रस्त अरनिको राजमार्ग सुधार हुँदै

राष्ट्रिय |


क्षतिग्रस्त अरनिको राजमार्ग सुधार हुँदै
फाइल तस्बिर


भउचप्रसाद यादव

काठमाडौँ, पुस ३ गते । चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भूकम्प र बाढीपहिरोबाट क्षत्विक्षत् भएको अरनिको राजमार्गको सो खण्ड चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार सुरु हुन लागेको जानकारी दिनुभयो । गत साता सहमति सहितको पत्र चीनलाई पठाइसकिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सो राजमार्गको सुधारका लागि चीनले गरेको प्रस्ताव नेपालले स्वीकृत गरिसकेको छ, अबको एक महिनाभित्र चिनियाँ प्राविधिक टोली नेपाल आई काम सुरु गर्नेछन् ।” आठ करोड युआन (एक अर्ब ४४ करोड २० लाख रुपियाँ) लागतमा सो पुनर्निर्माण हुनेछ ।
चालीस फिटको कन्टेनर आवतजावत गर्न सक्ने गरी यो सडक खण्ड पुनर्निर्माण हुने उहाँले जानकारी दिनुभयो । आउँदो वर्षायाम सुरु हुनुअघि नै पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी दुुई मुलुकबीच सहमति भइसकेको छ ।
पुनर्निर्माणका क्रममा घुम्तीलाई फराकिलो बनाउनुका साथै भत्केका पर्खाल र कल्भर्ट निर्माण गरिने छ । पहिरो आउने गरेका ठाउँमा पर्खालसमेत निर्माण गरिने छ । सो सडक खण्डका ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।
सो राजमार्गको कोठे, लामोसाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलाङ्क, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा बढी समस्या रहेको थापाले बताउनुभयो । अहिले यी ठाउँमा दुवैतर्फ गाडी आवतजावत गर्न मिल्दैन । पुनर्निर्माणपछि यी ठाउँमा ४० फिटको कन्टेनर सहज रूपमा आवतजावत गर्नेछन् । अहिलेको सो सडक साढे पाँच मिटर कालोपत्रेसहित छ मिटरभन्दा बढी छैन ।
गएको असोजमा सम्पन्न चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणको क्रममा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति प्रस्ताव गरेको थियो । भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै पक्षबीच अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमति पनि भएको थियो ।
सन् १९६० मा चीन सरकारको आर्थिक सहयोगमा यो राजमार्ग निर्माण गरिएको थियो । नेपाल–चीन जोड्ने यो पहिलो राजमार्ग हो । यसअघि २०७२ सालको भूकम्पले क्ष(ितग्रस्त भएको यो राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाललाई हस्तान्तरण गरेको थियो । त्यसबेला काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सीसीजु ग्रुप कर्पोरेसनले सो राजमार्ग मर्मत गरेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?