logo
२०८१ बैशाख ८ शनिवार



तीनकुने पुल नयाँ ठेक्काबाट निर्माण हुने

राष्ट्रिय |


तीनकुने पुल नयाँ ठेक्काबाट निर्माण हुने
सांकेतिक तस्बिर


काठमाडौँ, मङ्सिर ३० गते । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म निर्माण अवरूद्ध बनेको थियो ।

यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै सूचना प्रकाशित गरिने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी भएको सम्झौता) का आधारमा निर्माण शुरु भएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको कम्पनीले निर्माण गरेको संरचनामध्ये एउटा जग मात्रै स्वीकार गर्न सकिनेछ ।”
यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ ।

कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उहाँले बताउनुभयो । मोबाइलाइजेसन काम गर्न आवश्यक रकम पेश्की पहिले कम्पनीलाई उपलब्ध गराएकोमा त्यो पनि फिर्ता भइसकेको उहाँले बताउनुभयो ।

नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणको लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ ।
यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्नसकेको थिएन । रु २१ करोड ३३ हजार बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो । नेपालमा पहिलो पटक नयाँ प्रविधि (आर्क एण्ड ब्रिज) प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?