logo
२०८० चैत्र १५ बिहीवार



सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

प्रदेश |


सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए



कञ्चनपुर, मङ्सिर १२ गते । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्याइएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फण्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताउनुभयो । “सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो”, उहाँले भन्नुभयो, “यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् । यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन् । अन्य क्षेत्रमा क्षयरोगको सङ्क्रमणसमेत हुन पाउँदैन ।” आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?