logo
२०८१ बैशाख ८ शनिवार



आठ महिनामा विदेशबाट एक लाख ३६ हजारको उध्दार

विदेश |


आठ महिनामा विदेशबाट एक लाख ३६ हजारको उध्दार


मुकुन्द गैरे
काठमाडौँ, कात्तिक २४ गते । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी (रियाद जेद्दा) बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका छन् ।
यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ ।

टर्कीबाट ३५ सय १९ जना र ओमानबाट १७ सय ८४ जना साथै दक्षिण कोरियाबाट दुई हजार ६५ जना फर्किएका छन् । छिमेकी देश बङ्गलादेशबाट ९७० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ६३४ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म सिगांपुरबाट एक हजार ८५ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ४७७ रहेका छन् । सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।अफ्रिकी मुलुक सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

कुन प्रदेशमा कति उद्वार ?
स्वदेश उद्वार गरिएका सबैभन्दा बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशबाट १८ हजार ७ ९४ जनाको उद्वार गरिएको छ ।दोस्रोमा प्रदेश नम्बर १ बाट १६ हजार १०१ जनाको उद्वार गरिएमा तेस्रोमा प्रदेश नम्बर २ बाट १३ हजार ९४१जनाको उद्वार गरिएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम स्वदेश फर्किएको पाइएको छ । कर्णालीबाट १६ सय ५९ जनाको उद्वार गरिएको सिसिएमसिले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट १३ हजार ९४१ र सूदुरपश्चिम प्रदेशबाट १८ सय ८६ जना स्वदेश फर्किएका छन् । यसको साथै प्रदेशगत विवरण प्राप्त नभएको संख्या ६० हजार ८०८ रहेको सिसिएमसिले बताएको छ ।
हाल क्वारेन्टाइनमा कति ?
विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारेन्टाइनमा बस्नेक्रम जारी छ । होटल क्वारेनटाईनमा १५ हजार ७ जना बसेका छन् । होम क्वारेनटाइनमा ७ हजार ६८३ जना र लोकल क्वारेनटाइनमा ४ हजार ८६५ जना रहेको सिसिएमसिले जनाएको छ । अस्पतालमा ६७ जना र अन्य ठाउमा ७८० जना रहेको बताइएको छ ।

अब विदेशबाट उद्धार गर्ने काम सकियो

सरकारले कोरोनाको कारण समस्या परी स्वदेश फर्कनैपर्ने अवस्थामा अबदेखि कोही नेपाली नरहेको बताएको छ । हिजो बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त निष्कर्ष निकालेको हो । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले कोही नेपाली विदेशमा समस्यामा परी अब उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै कोही बाँकी रहेको भए नियमित उडानबाट आउन सक्ने गोरखापत्र अनलाइनलाई बताउनुभयो । अब चाटर उडान र कूटनीतिक निकायबाट उद्धार आवश्यक नरहेको आज बसेको बैठकले निष्कर्ष निकालेको सचिव गुरागाईंले बताउनुभयो । विदेशमा ज्यान गुमाएका नेपाली शव स्वदेश ल्याउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई व्यावस्थापनको जिम्मा दिने निर्णय भएको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप