logo
२०८० चैत्र १६ शुक्रवार



खिजीकातीमा एकल पुरुषलाई मासिक भत्ता 

खुला |
समाज |


खिजीकातीमा एकल पुरुषलाई मासिक भत्ता 


ओखलढुङ्गा, कात्तिक ८ गते। खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक रु ५०० आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो ।    
यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक रु ५०० का दरले भत्ता खान थालेका छन् ।

वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्तावापत रु ६ हजार वितरण गरिसकेको छ । खिजीदेम्बा –४ मा १५ एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । साठी वर्षमुनिका एकल पुरुष आफँै सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । सत्तरी वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ । 

सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको र सो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताउनुभयो । अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 

खिजीदेम्बा –४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आउनुभएको छ । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उहाँबाट भएको छ । वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?