logo
२०८० चैत्र १५ बिहीवार



हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’  

समाज |
फिचर |


हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’  
सांकेतिक


महेन्द्रनगर, कात्तिक ८ गते। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहनुभएको छ । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहनुभएका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोख्नुभयो । २०६२ सालदेखि टहरामा बस्दै आउनुभएका बोहराले हिउँदमा भने नबनहरा पुलमुनि बास बसिरहनुभएको छ ।    

“ सुकुम्बासी बस्ती त नामको मात्रै हो”, उहाँले भन्नुभयो, “ वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुलमुनि नै हुन्छ ।” मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुल मुनि बास बस्नु परेको उहाँले बताउनुभयो । “ राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं”, उहाँले भन्नुभयो, “ ती गाडीभित्रका ठुलाबडाहरु हामीलाई देखे नदेखे झै गर्छन ।” विगतमा मजदूरी गरेर जीविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् । “ कोरोना आएपछि त पेट पाल्न पनि धौधौ हुने स्थिति आयो”, उहाँले भन्नुभयो, “ विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।”   उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास छ ।  
    
सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भए पनि अझै पुनःस्थापना कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ । “बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भन्नुभयो, “ बस्ती पुनःस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरे पनि सुनुवाइ भएन ।” त्यसैगरी बस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताउनुभयो । “ सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उहाँले भन्नुभो, “ परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।” सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जादैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।        

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएपनि बस्तीका हकमा भने लागू नभएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । “ सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरे पनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उहाँले भन्नुभयो, “ बस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।”     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?