logo
२०८० चैत्र १६ शुक्रवार



दशैंभत्ता नलिने सांसद शाक्यको घोषणा

राष्ट्रिय |


दशैंभत्ता नलिने सांसद शाक्यको घोषणा



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २ गते । साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहनुभएका शोभा शाक्यले मुलुक कोभिड - १९ महामारीले ग्रस्त भएका बेला आफूले दशैंभत्ता नलिने घोषणा गर्नुभएको छ । आइतबार एक वक्तव्य जारी गर्दै शाक्यले सो घोषणा गर्नुभएको हो ।
“कोभिड – १९ महामारीका कारण देश संकटमा परिरहेको छ, ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन” सांसद शाक्यले वक्तव्यमा भन्नुभएको छ । दशैंभत्ता आफ्नो मासिक तलबसँग बैंक खातामा आए पनि त्यसलाई फिर्ता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
“मासिक तलब स्वतः खातामा आउने गर्छ, बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँभत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ” शाक्यले वक्तव्यमा भन्नुभएको छ, “मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु, दशैँ खर्च बापतको सो रकम कोभिड –१९ को स्वास्थ्यकोषमा दाखिला गर्नसमेत हार्दिक अनुरोध गर्दछु ।”
देश संकटमा भएका बेला जनप्रतिनिधि सबैलाई दशैँभत्ता फिर्ता गर्न उहाँले आग्रह पनि गर्नुभएको छ । प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड – १९ नियन्त्रण र उपचारमा लगाउन पनि शाक्यले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?