logo
२०८१ बैशाख १३ बिहीवार



सञ्चार क्षेत्रको हित हुनेगरी काम गर्छु: मन्त्री गुरुङ

राष्ट्रिय |


सञ्चार क्षेत्रको हित हुनेगरी काम गर्छु: मन्त्री गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली सञ्चारक्षेत्रको हित हुनेगरी सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आइतबार बिहान भएको भेटमा उहाँले सो कुरा बताउनुभयो ।

मन्त्री गुरुङको सरकारी निवास पुल्चोकमा भएको भेटमा उहाँले महासंघ सहितका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि मन्त्री गुरुङले सो अवसरमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटका क्रममा महासंघका प्रतिनिधि मण्डलले सञ्चारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । सञ्चारक्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महासंघले सञ्चारक्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकहरुबीच छलफल र आपसी सहकार्य हुनुपर्ने बताएको थियो । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानुनी संरचना निर्माण, सञ्चारक्षेत्रको पुनःसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा महासंघले धारणा राखेको अध्यक्ष आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?