logo
२०८१ बैशाख १३ बिहीवार



विशेष अधिवेशन बोलाउन माग

राष्ट्रिय |


विशेष अधिवेशन बोलाउन माग




गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोना सङ्क्रमण रोक्न कुनै पनि कार्यक्रम नल्याए विरोधका कार्यक्रमलाई अगाडि बढाइने बताउनु भएको छ ।
कोभिडको महामारी फैलिरहेको छ, सङ्क्रमितको उपचार गर्न भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गरिएको छैन भन्दै सभापति देउवाले सरकारलाई जनताको चिन्ता नै नभएको आरोप लगाउनु भएको छ ।
कांँग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिका तर्फबाट समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिवेदन बुझाएपछि सभापति देउवाको यस्तो भनाइ आएको हो ।
सभापति देउवाले सङ्घीय संसद्को विशेष अधिवेशन बोलाएर यस विषयमा छलफल गराउनु पर्दछ र राहतको व्यवस्था सरकारले गर्नुपर्छ भन्नुभयो । सभापति देउवाले सबैलाई समाजिक दूरी कायम गर्न, मास्क लगाउन, पटक–पटक हात धुन र सेनिटाइजरको प्रयोग गर्नसमेत आग्रह गर्नुभयो ।
प्रतिवेदनमा कोभिडबाट अति प्रभावित गरिब परिवारलाई चाडपर्वको समयसमेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सीधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग पनि गरिएको छ । परिस्थिति काबु बाहिर जान नदिन यस विषयलाई गम्भीर छलफल गर्न सङ्घीय संसद्को विशेष अधिवेशन बोलाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।
अनुगमन समितिले नेपालीहरूको महान् चाडपर्व दशँै, तिहार, छठ र इद सँघारैमा आइपुगेकाले सामाजिक सांस्कृतिक पर्वलाई पर्याप्त स्वास्थ्य र सुरक्षा सतर्कताका साथ मनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?