logo
२०८१ बैशाख ७ शुक्रवार



‘बूढीगण्डकीबारे आएको अभिव्यक्ति निराधार’

मुख्य समाचार |


‘बूढीगण्डकीबारे आएको अभिव्यक्ति निराधार’


देवबहादुर कुँवर

काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका सम्बन्धमा आएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताउनुभएको छ । उहाँले निर्णय नै निश्चित भइनसकेको आयोजनाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिई समाजमा भ्रम फैलाउने कार्य गलत भएको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार ६५औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘कार्यारम्भ सुरु नभएको, हुने नहुने निर्णय निश्चित हुन नसकेको आयोजनाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति आउनु समाजमा भ्रम फैलाउने कुचेष्टा भएको
हो भन्नुभयो ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र अन्य दुई जना पूर्वप्रधानमन्त्रीको नाम उल्लेख गरी बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपियाँ बाँडेर खाएको आरोप लगाइएको अभिव्यक्ति दिनुभएको थियो ।
आफू लगायत केही पूर्वप्रधानमन्त्रीलाई जोडेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले डा. भट्टराईको नाम नै नलिई भन्नुभयो, ‘‘केही गैरजिम्मेवार तत्वहरू के के भन्दै हिँडेको सुन्दै छु, यो समाजलाई गलत बाटोतर्फ लैजाने कुचेष्टा हो ।’’
भ्रष्टाचारमा शून्य सहनशीलता राज्यको पहिलो प्राथमिकता भएकाले सत्य, निष्ठा र जिम्मेवारका साथ आफू सदैव अगाडि बढ्ने गरेको धारणा राख्दै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘गैरजिम्मेवार अभिव्यक्ति दिएर समाजमा भ्रम फैलाउने, सम्भावना नै नभएको कुरामा निराधार अभिव्यक्ति दिने, यो स्वयम्का लागि राम्रो काम होइन ।’’
सीमित स्रोत साधन र अभावका अतिरिक्त नेपाल प्रहरीले राष्ट्र र नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले प्रहरी सङ्गठनभित्र आन्तरिक सुदृढीकरण प्रयास जरुरी भएको बताउनुभयो ।
प्रधानमन्त्रीले पेसागत मर्यादा, देश र जनताप्रतिको उत्सर्गले प्रहरीलाई दरिलो र गर्विलो बनाएको स्मरण गराउँदै मानव अधिकारको रक्षा, समृद्ध नेपाल र विकास निर्माणका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुन जरुरी रहेको बताउनुभयो । प्रहरीका काम कारबाहीप्रति कुनै कोणबाट पनि नकारात्मक टिप्पणी गर्ने अवस्था नरहेको धारणा उहाँको थियो ।
विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई जति सहज र आरामदायी बनाएको छ, त्यत्तिकै अपराधका घटनाले सीमाको पर्खाल नाघेको चर्चा गर्दै उहाँले विद्युतीय सञ्चार अपराधले विश्वलाई आक्रमण गरिरहेका बेला नेपाल प्रहरीलाई चनाखो हुन निर्देशन दिनुभयो ।
प्रहरीको आलोचना गर्नेहरूले पनि सुत्दा प्रहरी सम्झेर नै सुत्छन्, यस्तो अवस्थामा प्रहरी सबैको रक्षक र सहयोगी मात्र नभई सुरक्षा सहारा बन्न सक्नुपर्छ, मुलुकमा सङ्घीय संरचना परिवर्तन भएसँगै प्रहरी पनि प्रदेशमा समायोजनको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
उहाँले बालबालिका तथा महिलामाथि हुने जबरजस्ती करणी र बलात्कारका घटनामा छलफल र मिलापत्र कुनै दृष्टिकोणबाट सह्य नहुने बताउनुभयो । यस्ता घटनालाई कानुनको दायरामा ल्याउन र एसिड प्रहार, बलात्कार र करणी अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्न निर्देशन दिनुभयो । अधिकार प्रयोगमा पछाडि नहट्न निर्देशन गृहमन्त्री रामबहादुर थापाले औँलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिङ्गो प्रहरी सङ्गठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुनप्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो  ।
‘‘दोष जति अरूलाई थुपार्ने, प्रहरीप्रति सदैव नकारात्मक भ्रम छर्ने, यस्तो आलोचनात्मक सोचबाट निर्देशित हाम्रो समाजमा प्रहरीले निर्भिक र दृढताका साथ जिम्मेवारी वहन गर्न सक्नुपर्छ’’, उहाँले भन्नुभयो, त्रुटिरहित ढङ्गले कार्य सम्पादन गर्नुहोस् ।
गृहमन्त्री थापाले यूएन शान्ति मिसनमा प्रहरीको सङ्ख्या थप्ने विषयमा छलफल हुनुका साथै प्रहरी सङ्गठनको सुदृढीकरणमा नेतृत्वले निर्वाह गरेको रचनात्मक प्रयासलाई गृह मन्त्रालयको पूर्ण सहयोग रहेको छ भन्नुभयो । रासन र कल्याणकारी सेवामा थप सुधार गरी प्रहरीको मनोबल उच्च बनाइने कार्य जारी रहेको स्पष्ट पार्नुभयो ।
प्रहरीप्रति सर्वसाधारणको ठूलो आस्था र विश्वास छ । आम विश्वासको दियो जगाउन प्रहरीले इमानदार र विश्वसनीय काम गर्न जरुरी रहेको औँल्याउँदै मन्त्री थापाले पारिवारिक सुखभन्दा देश र नागरिकप्रतिको प्रहरीको कर्तव्य पहिलो भएको बताउनुभयो ।
कोरोना सङ्क्रमण महामारीबीचमा पनि प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारण नागरिकको सेवामा पु¥याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्दै मन्त्री थापाले विभिन्न समयमा कर्तव्य पालना तथा शान्ति सुरक्षा अमनचयन कायम राख्ने क्रममा ज्यान गुमाउने अमर तथा शहीद प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना महामारीका कारण यसको वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सङ्गठनका पूर्व तथा बहालवाला सदस्यलाई आमन्त्रण गर्न नसकिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अमर तथा शहीद प्रहरीका परिवारलाई राहत प्रदान गरिएको थियो । प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा शहीद प्रहरी स्मारकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र पूर्वप्रहरी महानिरीक्षकहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?