logo
२०८० चैत्र १५ बिहीवार



ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित

अन्तर्राष्ट्रिय |


ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित
तस्विर-फाइल


दुशान्बे, ताजिकिस्तान, असोज २६ गते। ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी हुनु भएको छ ।
निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु भएको छ ।
विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनु हुनेछ । तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बन्नु भएको थियो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो । छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्व सोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ । तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन ।
तर राख्मोन र उहाँको सरकारले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा संकट व्यहोर्नु परिरहेको छ । पाँच लाखभन्दा बढी ताजिकहरु खासगरी रुसमा रोजगारीका लागि गएका छन् । लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताउनुभयो । रुसमा रोजगारी गुमाएर ठूलो संख्यामा ताजिकहरु स्वदेश फर्किएको अवस्थामा मुलुकको अर्थतन्त्र ६.५ प्रतिशतले खुम्चने पनि उहाँले बताउनुभयो ।
अर्थतन्त्रमा संकट उत्पन्न भएमा ताजिकिस्तानलाई बाह्य ऋण भुक्तानीमा पनि संकट उत्पन्न हुनेछ । हाल कूल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई भन्दा बढी ऋण भार छ, र चीनले ताजिकिस्तानलाई सबैभन्दा बढी ऋण दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?