logo
२०८० चैत्र १६ शुक्रवार



उत्साह थप्दै नागरिक पेन्सन योजना

अर्थ |
फिचर |


उत्साह थप्दै  नागरिक पेन्सन योजना


राधा चालिसे

काठमाडौँ, असोज ११ गते । नागरिक लगानी कोषले सर्वसाधारणलाई पनि पेन्सन उपलब्ध गराउने गरी ल्याएको नागरिक पेन्सन योजनामा सहभागी हुन चाहने बढिरहेका छन् । कोषले यस्तो योजना ल्याएपछि हालसम्म तीन हजारभन्दा बढीले चासो देखाएर कार्ड लिइसकेका छन् ।
कोषका प्रवक्ता उद्धव सिलवालका अनुसार कोषले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो ।
कोषमा सहभागी हुन चाहने बचतकर्ताको सहजताका लागि कोषले एनआईसी एसिया बैङ्कसँग सहकार्य गर्ने समझदारी पनि गरिसकेको छ । समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नुभयो ।
त्यसअनुसार बैङ्कले कोषका लागि छुट्ट भौचरको पनि व्यवस्था गरिसकेकाले बचतकर्ताले बैङ्कमै किस्ता रकम जम्मा गर्नसक्ने निर्देशक नेपालले जानकारी दिनुभयो । साथै बैङ्कले निकट भविष्यमा नै विद्युतीय भुक्तानी सेवामार्फत पनि अनलाइनमार्फत किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको कोषले
जनाएको छ ।

सहभागी को हुन सक्छन् ?
यस योजनामा कानुनबमोजिम स्थापना भएका सङ्घसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुनसक्ने कोषले जनाएको छ ।
कोषमा बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने अङ्कको रकम मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा बुझाउनसक्ने छन् ।
कोषमा सहभागी भइसकेपछि आफूले छनोट गरेअनुसारको रकम नियमित रूपमा बुझाउनुपर्ने छ । तोकिएको समयमा बुझाउन नसकेकमा विलम्ब शुल्क तिरेर किस्ता नियमित गर्न सकिने कोषले
जनाएको छ ।
कुनै अवस्थामा बचतकर्ताका आयस्रोत गुमेमा वा अशक्त भई आयआर्जन हुन नसकेमा, बसाइँ सरी विदेशिने अवस्था भएर योजनाबाट अलग पनि हुन चाहेमा कोषमा जम्मा भएको रकमको सावाँ ब्याज एकमुष्ट प्राप्त गर्नसक्ने छन् तर यसका लागि नियमित बचत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने कोषले जनाएको छ ।
कोषमा जम्मा गरेको रकमबाट पेन्सन पाउनका लागि भने कम्तीमा १५ वर्षसम्म आफूले छनोट गरेको रकम जम्मा गरेको हुनुपर्ने छ । बचतकर्ता ६० वर्ष उमेर पुगेपछि पेन्सन उपलब्ध हुन्छ तर कोही व्यक्तिले बचत गर्न थालेपछि १५ वर्षअगावै निजको उमेर ६० वर्ष पुग्ने रहेछ भने निजले कोषमा जम्मा गरेको रकम र ब्याज र प्रतिफल एकमुष्ट भुक्तानी लिनसक्ने छन् ।

कति पाइन्छ पेन्सन ?
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा आउने रकम प्रत्येक महिना पेन्सनका रूपमा जीवनभर पाउन सकिन्छ ।
यस्तै सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछि निजको मृत्यु भएमा मृतकका पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिने छ । यस योजनमा नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेका व्यक्ति पनि सहभागी हुनसक्ने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?