logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

मुख्य समाचार |


सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा


देवबहादुर कुँवर

काठमाडौँ, असोज १० गते । राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन गरे कि ? भन्ने भयले तर्सिने गरेको उहाँ बताउनुहुन्छ । बिरामी बोक्ने क्रममा एक सहकर्मी चालकमा कोरोना सङ्क्रमण देखिएपछि एम्बुलेन्स चालक तर्सिनुपरेको भनाइ उहाँको छ ।
त्यस्तै अल्का अस्पताल ललितपुरका एम्बुलेन्स चालक दावा तामाङको पीडा त्यस्तै छ । कहिलेकाहीँ कोरोना सङ्क्रमित बिरामी भेटिँदा १४ दिन क्वारेन्टाइन र पटक–पटक स्वाब परीक्षण गर्नुपर्ने बाध्यता आइलाग्ने उहाँ बताउनुहुन्छ ।
चालक तामाङले एम्बुलेन्सले बिरामी ओसारपसार गर्नैपर्ने हुन्छ । कोरोनासँग डराएर काम छैन, पेट पाल्नै प¥यो, सेवा दिनै प¥यो, कोरोना पुष्टि भएका र लक्षण देखिएकालाई बोक्दिन । बिरामीको लक्षण विवरण बुझेर मात्र सेवा दिने गरेको छु भन्नुभयो ।
नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रमुख सवारी चालक धर्म रिमाल कोरोना सङ्क्रमित बिरामी नियमित ओसारपसार गर्नु आफ्नो दैनिकी भएको बताउनुहुन्छ । सङ्क्रमित बिरामी बोक्न थालेको छ महिना भयो । उहाँले पशुपतिनाथको कृपाले कोरोनाबाट जोगिँदै आएको छु भन्नुभयो ।
नेपाल सरकार, कोभिड–१९ महामारी सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका तथा उपत्यकाका छिमेकी जिल्लासम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका बिरामीको निःशुल्क ओसारपसारको अधिकार १०२ लाई दिएको छ । सो संस्थाका पाँचवटा एम्बुलेन्स र १२ चालक आलोपालो गरी २४ घण्टा सङ्क्रमितको ओसारपसारमा खटिन्छन् । गतवर्ष माघदेखि सङ्क्रमित बोक्न थालेका हाँैं, अहिलेसम्म सबै सुरक्षित छौँ –उहाँले भन्नुभयो ।
केही दिनअघि एक चालकमा लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएपछि अलि डर लागेको भनाइ अर्का एम्बुलेन्स चालक बम गुरुङको छ । डिल्लीबजारस्थित एक कलेज परिसरभित्र १०२ एम्बुलेन्स सेवाका चालकका लागि बासस्थान तथा एम्बुलेन्स निःसङ्क्रमण गर्ने व्यवस्था गरिएको छ ।
सरकारी तथा निजी अस्पतालका एम्बुलेन्स चालक सामान्य बिरामीलाई समेत बोक्न डराउने गरेका छन् । आवश्यक पीपीई लगायत स्वास्थ्य उपकरण र स्वास्थ्य सुरक्षाको व्यवस्था नहुँदा सामान्य बिरामी बोक्न डराउनुपरेको गुनासो चालकको छ ।
कोरोना सङ्क्रमित बोक्ने अधिकार १०२ बाहेक अन्यलाई दिइएको छैन । सामान्य बिरामी बोक्न डराउने भएकाले निजी सवारी तथा ट््याक्सीको अधिक प्रयोग हुने गरेको छ । काठमाडौँ उपत्यकामा सञ्चालित १७२ वटा एम्बुलेन्समध्ये धेरैजसो थन्केर बसेका छन् ।
त्यस्तै शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । सेवाग्राही भन्छन्– अन्य रोगका बिरामी बोक्नसमेत एम्बुलेन्स चालक डराउने भएकाले निजी सवारी तथा ट्याक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम सुरक्षित उपकरण प्रयोग र स्वास्थ्य सतर्कता अपनाउन सकेमा निजी कार र ट्याक्सीको तुलनामा एम्बुलेन्स चालकलाई सङ्क्रमणको जोखिम कम हुने बताउनुहुन्छ ।
हालसम्म सङ्क्रमित बोकेकै कारण एम्बुलेन्स चालकमा कोरोना सङ्क्रमण पुष्टि हुन सकेको छैन । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमित बाहेक अन्य बिरामीलाई सेवा दिन निर्देशन दिइएको छ । सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले व्यावसायिक प्रयोजनबाट सञ्चालित एम्बुलेन्स सेवा लिन बाध्यकारी नभएको स्पष्ट पारेको छ । कोरोना महामारीसंँगै सुत्केरी र मिर्गाैलापीडित बिरामीको यातायात सुविधाका लागि निजी सवारीलाई एम्बुलेन्समा परिणत गरेका बूढानीलकण्ठ नगरपालिका–३ का ३७ वर्षीय युवकमा जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?