logo
२०८० चैत्र १६ शुक्रवार



पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

प्रदेश |


पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
फाइल तस्बिर


पर्वत, असोज ६ गते ।  निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता छ ।

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यान गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताउनुभयो ।

“यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ”, उहाँले भन्नुभयो, “बस्तीमाथिको भीर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन । कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ ।”

उहाँका अनुसार त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ । बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताउनुभयो । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उहाँको भनाइ छ ।

यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभयो । अहिलेसम्म नगरपालिकामा सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उहाँको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताउनुभयो । उहाँले तत्काललाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।

पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन् । गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?