logo
२०७७ कार्तिक ४ मंगलवार

फोहोरको दीर्घकालीन व्यवस्थापन (सम्पादकीय)

विचार/दृष्टिकोण |




काठमाडौँ उपत्यकाको स्थायी समस्याकै रूपमा चिनिएको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने भएको छ । नुवाकोट र धादिङको सीमाक्षेत्रमा रहेको बन्चरेडाँडामा निर्माणाधीन ‘स्यानेटरी ल्यान्डफिल्ड साइट’को पहिलो चरणको निर्माण असोज मसान्तसम्म पूरा हुने र कात्तिकको पहिलो साताबाट फोहोर विसर्जन गर्न सकिने सम्बद्ध पक्षले दिएको जानकारीअनुसार फोहोर व्यवस्थापनमा लामो समयका लागि समाधान प्राप्त हुने देखिएको हो । हाल फोहोर विसर्जन गरिँदै आएको सिसडोलभन्दा करिब दुई किलोमिटर पर बन्चरेडाँडामा फोहोर व्यवस्थापनस्थलको काम करिब ८५ प्रतिशत सकिएको र असोज अन्तिमसम्म सरकारलाई परियोजना हस्तान्तरण हुन सक्ने भएकाले फोहोर व्यवस्थापनमा उपयुक्त समाधान देखिएको छ । दीर्घकालीन योजनासहित बनाइएको त्यस स्थानमा सामान्य अवस्थामा २५ र फोहोर प्रशोधन तथा भौतिक संरचना विस्तार गर्दा करिब ५० वर्ष उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । यसो भएमा पछिल्ला वर्ष उपत्यकावासीले भोग्दै आएका समस्या धेरै हदसम्म समाधान हुनेछ । बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दा स्थानीय बासिन्दालाई कुनै असर नगर्ने भन्दै सम्बद्ध पक्षले यसलाई उपयुक्त स्थान ठानेको छ ।
नुवाकोटको सिसडोलमा हाल काठमाडौँ महानगरलगायत उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । झन्डै १४ वर्षअघि दुई वर्षका लागि सिसडोलमा उपत्यकाको फोहोर फाल्ने व्यवस्था मिलाइएको थियो तर त्यस स्थानमा बस्तीको बाटो हुँदै जानुपर्ने, भौतिक विकासको अभाव, फोहोर व्यवस्थापनका उपयुक्त संरचना नबनाइनु, स्थानीयसँगको विवाद, स्थानीयको उच्च सौदाबाजीजस्ता कारणले
पटक–पटक फोहोर व्यवस्थापनमा व्यवधान आएको थियो । विगतका अनुभवबाट पनि नयाँ स्थानमा गरिने फोहोर व्यवस्थापनमा यस्ता समस्या नआउनेमा विश्वस्त हुन सकिनेछ । पछिल्ला दशकमा भएका तीव्र तथा क्षेत्रीय असन्तुलित जनसङ्ख्या वृद्धि र विस्तार, अव्यवस्थित सहरीकरणका कारण हरेकजसो सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या पेचिलो बन्दै आएको छ । यस्तो अवस्थामा फोहोर व्यवस्थापनमा सरकारको ठूलो धनराशि खर्चनुपर्ने अवस्था छ । तर, फोहोरबाट लिन सकिने वैकल्पिक उत्पादनका बारेमा खास ध्यान दिइएको छैन । एकतिर बर्सेनि विदेशी मुद्रा खर्चेर रासायनिक मल खरिद गर्नुपर्ने, त्यो पनि बेलैमा ल्याउन नसकेर किसान हैरान हुने तर फोहोरबाट मल उत्पादन गर्न सकिनेबारेमा प्रभावकारी दृष्टिकोण नबनाउनुले स्रोतको अधिकतम प्रयोग हुन सक्दैन । फोहोर व्यवस्थापन भनेको उपत्यकाको फोहोर बन्चरेडाँडामा पु¥याउनुमात्र नभई, यसको विविध पक्षको व्यवस्थापन पनि हो । फोहोरबाट मल बनाउन, ऊर्जा निकाल्न सकिने आदि प्रयोग अन्यत्र भएकै छन् । नसड्ने वस्तुको व्यवस्थापनले तल्लो क्षेत्रका बासिन्दा र वातावरणमा पर्न सक्ने प्रभावबारेमा पनि अहिले नै सोच्नु आवश्यक हुन्छ ।
फोहोर व्यवस्थापनमा सरकार र स्थानीय तहमात्र जिम्मेवार छन् भन्ने सोच्नु गलत छ । प्रत्येक नागरिक, घरधनी÷बासिन्दा पनि फोहोरको व्यवस्थापन, सभ्य र स्वास्थ समाजको निर्माणममा जिम्मेवार हुनुपर्छ । सड्ने र नसड्ने वस्तु छुट्टाएर राख्न नसक्ने नगरक्षेत्रका बासिन्दाले सहर फोहोर भयो भनेर न सरकार र स्थानीय तहलाई गुनासो गर्न सुहाउँछ । राजधानी उपत्यकामा मात्र होइन, मुलुकभरका पालिकाहरूले प्रत्येक घरमा कुहिने र नकुहिने फोहोरलाई फरक–फरक भाँडामा राख्न बाध्य गर्न सक्छन् । साथै, पालिकाहरूले फरक–फरक स्थानमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्नु अनिवार्य हुनेछ । नकुहिने प्लास्टिकजन्य वस्तुको पुनः प्रयोग गर्न सकिने र फोहोरको मात्रा घटाउन सकिने भएकाले एकै स्थानमा सबै प्रकारका फोहोर विसर्जन गर्नु उपयुक्त हुँदैन । कुहिनेबाट मल बनाउन सकिने र कतिपय नकुहिने वस्तुको पुनः प्रयोग गर्न सकिने भएकाले अबका पहल त्यता पनि आकृष्ट हुनुपर्छ । अर्कोतिर हालैको कोरोना (कोभिड–१९) को महामारीले फोहोर व्यवस्थापनमा थप होसियारी अपनाउनुपर्ने आवश्यकता पुष्टि गरेको छ । महामारीको अवस्थामा स्वास्थ्यकर्मीसहित सङ्क्रमितले प्रयोग गरेका लुगाफाटोलगायतका सामग्री सामान्य अवस्थाका डम्पिङसाइटमा फाल्नु चुनौती हुन सक्ने देखिएको छ । यसैगरी, अस्पतालजन्य फोहोरका लागि पनि विशेष प्रकारको होसियारी र तयारी गर्नुपर्ने हुनाले सबै पालिकाहरूले फोहोरको दीर्घकालीन व्यवस्थापनलाई उच्च महŒव दिनुपर्छ कि, फोहोर व्यवस्थापन भनेको एकठाउँमा सङ्कलित फोहोर अन्यत्र लगेर विर्सजन गर्नुमात्र होइन । फोहोरबाट वैकल्पिक उत्पादन गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यस दिशामा पनि ध्यान दिनु आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप