logo
२०८१ बैशाख ८ शनिवार



नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेट, सचिवालय बैठकको कार्यसूचीमा छलफल

मुख्य समाचार |


नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेट, सचिवालय बैठकको कार्यसूचीमा छलफल


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको कार्यसूची बारेमा केन्द्रित भएर दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो बालुवाटार पुग्नुभएको थियो ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीच सोमबार दिउँसो छलफल भएको हो । छलफलमा भोलि मंगलबार बस्ने सचिवालय बैठकको कार्यसूचीको विषयबारे छलफल भएको उहाँले बताउनुभयो ।
आइतबार बसेको सचिवालय बैठकको कार्यसूचीको पहिलो नम्बरमा मन्त्रिपरिषद पुनर्गठनको विषय थियो । सचिवालयका सदस्यहरुले मन्त्रि परिषद पुनर्गठनको विषयमा आइतबार अनेक कोणबाट सुझाव दिनुभएको थियो । दुई अध्यक्षबीच आज भएको भेटघाटमा भावी मन्त्रि कसलाई बनाउने बारेमा गृहकार्य भएको हुनसक्ने अनुमान गरिएको छ ।
मंगलबार दिउँसो १२ः३० बजेका लागि बालुवाटारमा बोलाइएको सचिवालय बैठक अघि दुई अध्यक्षबीच बालुवाटारमा गोप्य भेटघाट भएपछि त्यसलाई महत्वकासाथ हेरिएको छ । मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री ओली सहमत हुनु भएपनि त्यसको एकिन खाका बनिसकेको छैन ।
पुराना सबै मन्त्रीलाई फेरबदल गर्ने कि राम्रो काम गरेका मन्त्रीलाई कायमै राख्नेबारेमा सचिवालय बैठकमा एकमत देखिएको छैन । राम्रो काम गर्ने केही मन्त्रीहरुलाई कायमै राखेर केही नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको सचिवालयका सदस्यहरुको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?