logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना

अन्तर्राष्ट्रिय |


अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना
तस्विर-फाइल


वासिङ्टन,असोज ४ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको छ ।
सर्वोच्च अदालतमा उदारवादी छवि बनाउनु भएकी न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा गत शुक्रबार निधन भएपछि उक्त स्थान रिक्त भएको हो ।
हाल रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पनि राष्ट्रपति ट्रम्पले गर्ने मनोनयनलाई सिनेटले अनुमोदन गर्ने बताएर नयाँ बहसको सिर्जना गर्नु भएको छ ।
नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताउनुभयो । गिन्सबर्गको उत्तराधिकारी तत्काल चयन गर्न नाराजुलुस गरेका उत्साहित समर्थकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रस्तावित नाम निकै प्रतिभाशाली र एकदमै कुशल महिला हुनेछिन् । म अर्को साता नै नाम सिफारिस गर्नेछु ।”
तर उहाँले ती सम्भावित उम्मेदवारका बारेमा भने केही बताउन चाहनु भएन । राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरिने व्यक्तिको सुनुवाई समेतका सम्पूर्ण प्रक्रिया पूरा गर्न आफूसँग पर्याप्त समय रहेको दाबी गर्नुभयो ।
तर रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो । डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन् ।
अमेरिकाका विभिन्न चुनावी मतसर्वेक्षणले आगामी चुनावमा राष्ट्रपति ट्रम्पले जित्ने सम्भावना झिनो रहेको देखाइरहेका छन् भने सिनेटमा पनि रिपब्लीकन पार्टी अल्पमतमा पर्ने सम्भावना छ ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको विषयलाई लिएर फेरि अमेरिकी चुनावमा नयाँ मोड सिर्जना भएको छ । कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख मानिसको ज्यान गइसकेको, लाखौं मानिस बेरोजगार भएका र आपसी कलह बढ्दै गएको अवस्थामा त्यसलाई पन्छाएर राष्ट्रपति ट्रम्पले न्यायाधीश नियुक्तिलाई चुनावी मुद्दा बनाउन थाल्नु भएको छ ।
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले कुनै पनि किसिमको प्रस्ताव नोभेम्बर ३ को चुनावपछि गरिनु पर्दछ भन्नुभयो । उहाँले भन्नुभएको छ, “मतदाताहरुले राष्ट्रपति चयन गरुन् र निर्वाचित राष्ट्रपतिले न्यायाधीश छानोस् ।” बाइडेनले सर्वोच्चको न्यायाधीशमा कालाजातिकी महिला छनौट गर्ने घोषणा गरिसक्नु भएको छ, तर उहाँले नाम भने सार्वजनिक गर्नु भएको छैन ।
राष्ट्रपति ट्रम्पले पुनरावेदन अदालतका न्यायाधीशहरु एमी कोनी ब्यारेट, हिस्पानिक समुदायकी बारबरा लागोआ र एलिसन जोन्स रसिङको नाम प्रस्ताव गर्ने सम्भावना छ । पुनरावेदन अदालतका न्यायाधीश अमुल थापरको नाम समेत चर्चामा रहेको छ ।
सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले डेमोक्रेटिक पार्टीका सिनेट सदस्यहरुसँग शनिबार नै भिडियो कन्फरेन्स गरेर ट्रम्पको सम्भावित कदमका बारेमा विचार विमर्श गर्नु भएको छ । १०० सदस्यीय अमेरिकी सिनेटमा हाल रिपब्लीकनको ५३ सिट र डेमोक्रेट पार्टीको ४७ सिट रहेको छ ।
अमेरिकामा गर्भपतन अधिकार समेतका महत्वपूर्ण विषयमा निर्णय गर्न नयाँ न्यायाधीश नियुक्तिले महत्वपूर्ण भूमिका खेल्नेछ । अहिलेको न्यायाधीश नियुक्ति राष्ट्रपति ट्रम्पले गरेको खण्डमा अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप