logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना बीमा गरीबसम्म पु¥याउन देउवाको आग्रह

राष्ट्रिय |


कोरोना बीमा गरीबसम्म पु¥याउन देउवाको आग्रह



गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ २९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको खोप कहिले आउने अनिश्चित रहेकाले गरीब जनताको उपचारका लागि कोरोना बीमालाई ब्यापक बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका देउवाले जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्नु जरुरी रहेकाले गरिबले कोरोनाको उपचार गर्न नसक्ने भएकाले तुरुन्तै बीमा अभियान तीव्र पार्न जोड दिनुभयो ।

कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले सोमबार बाग्मती प्रदेश स्तरीय ‘कोरोना सङ्क्रमणको सन्दर्भ ः सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ वेबिनारलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले सरकारलाई विपक्षी दल, व्यवसायी, उद्यमी, व्यापारी सबै क्षेत्रमा सहयोग पुगेको छ तर सुशासन र चुस्त व्यवस्थापन भएन भन्नुभयो ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भयो भन्नेलाई धम्काउने कार्य भएको छ भन्दै देउवाले भन्नुभयो, ‘‘काँग्रेसले सुरुमै सरकारलाई ५० लाख रुपियाँ सहयोग ग¥यो, अरू धेरैले पनि सहयोग गरेका छन्, तीन अर्बको औषधि खरिद गर्दा एक अर्ब भ्रष्टाचार भएको जानकारी आएको छ, छानबिन गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ ।’’

नेपाल लोकतान्त्रिक देश भएकाले चीनमा जस्तो कडा नियन्त्रण गर्न मिल्दैन, त्यसैले यहाँ सङ्क्रमण बढिरहेको छ, खोप आउने टुङ्गो छैन, त्यसैले पीसीआर परीक्षणलाई विस्तार गरेर जानुपर्ने सुझाव देउवाको छ । सभापति देउवाले सधैँ बन्दाबन्दी र निषेधाज्ञाले मात्र हुँदैन, तसर्थ स्वास्थ्यसम्बन्धी मापदण्डको कडाइका साथ पालना गरेर आफू पनि बाँचौं र अरूलाई पनि बचाउने अभियान लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?