logo
२०८१ बैशाख ११ मंगलवार



नेपालमा नौ प्रजातिका उफ्रने माकुरा

खुला |


नेपालमा नौ प्रजातिका उफ्रने माकुरा


चाँदनी हमाल

काठमाडौँ, भदौ २१ गते । नेपालमा नौ प्रजातिका उफ्रने माकुरा फेला परेका छन् । यसअघि रेकर्डमा नरहेका नौ प्रजातिका नयाँ माकुरा फेला पारिएको अध्यता किरण थापा मगरले जानकारी दिनुभयो ।
उहाँले चितवन राष्ट्रिय निकुञ्जमा एक वर्ष लगाएर गर्नुभएको खोजमा उफ्रने प्रजातिका माकुरा पत्ता लगाउनुभएको हो । अध्ययनका लागि उहाँलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने, अन्य संरक्षणकर्मी विमलराज श्रेष्ठ, टेकबहादुर गुरुङ, रबिनबहादुर केसी, डेभिड इ.हिल र अर्जुन थापाले सघाउनुभएको थियो । यी माकुरालाई ‘जम्पिङ स्पाइडर’ भनेर विश्वव्यापी रूपमा चिनिन्छ । साल्टिसिडा वैज्ञानिक नाम र यसै परिवारभित्र पर्ने यो माकुरा एरेनाइ वर्गमा पर्छ । नयाँ फेला परेका नौ प्रजातिका माकुरा मध्येको पहिलो प्रजाति एसेमोनिया टिनियुपस हो । यो जङ्गलभित्र रहने गर्छ ।
गत अगस्ट २९ मा सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार दोस्रोको नाम क्रिसिला भोलुप रहेको छ । यो माकुरा नेपालसहित भारत, भुटान र श्रीलङ्कामा पाइएको छ । तेस्रोमा रहेको इपोसिला औरान्टिका माकुरा नेपालसहित भारत, मलास्का, मलेसिया, म्यानमार, श्रीलङ्का र भियतनाममा पाइएको छ । चौथोमा रहेको हाइलस सेमी कपरियस नामको माकुरा नेपालसहित भारत र श्रीलङ्कामा मात्र पाइएको छ । पाँचौँ नम्बरमा रहेको आइसियस अल्बोटरमिनस नामकोे माकुरा नेपाल र भारतमा मात्र पाइएको छ ।
छैटौँ नम्बरमा रहेको फिन्टेला भिटाटा नामको माकुरा नेपालसहित बोर्नियो, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स र भियतनाममा पाइएको छ । साताँै नम्बरमा रहेको सिलर कर्परस नामको माकुरा नेपालसहित चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र ताइवानमा पाइएको छ । आठौँ नम्बरमा रहेको टेलामोनिया डिमिडियाटा नामको माकुरा नेपालसहित भारत, भुटान, इन्डोेनेसिया, पाकिस्तान, सिङ्गापुर र सुमात्रा टापुमा पाइएको छ ।
नवौँ नम्बरमा रहेको टेलामोनिया फेस्टिभा नामको माकुरा नेपालसहित चीन, भारत, इन्डोनेसिया, जाभा, मलेसिया, म्यानमार, सिङ्गापुर, सुलावासी र भियतनाममा पाइएको छ । आम रूपमा देखिने माकुराभन्दा फरक बेहोरा भएका यी प्रजातिका माकुरा पृथ्वीको पारिस्थितिक प्रणालीको साना चर मध्येका हुन् । आम माकुरा रुख, जङ्गल, घर तथा अन्यत्र उसको ¥यालबाट धागो निकालेर जालो बनाउँदै बस्न मन पराउँछन् । त्यही धागोको सहायताले शिकार गर्ने र एक स्थानबाट अर्को स्थानमा विचरण गर्ने गर्छन् तर उफ्रने प्रजातिका माकुराले त्यसो गर्दैन । यिनीहरूले न ¥यालबाट धागो नै कात्छन् । न त जालोमा आफ्नो घर बनाउँछन् ।
अध्यता मगरका अनुसार उफ्रँदै एक स्थानबाट अर्को स्थानमा पुगेर आफूभन्दा साना किटपतङ्गको शिकार गरेर मानिसको कृषिबालीलाई पनि जोगाउने गर्छ । खोलाको किनार, घाँसे मैदान, जङ्गलभित्रका साना बोटबिरुवा आदिमा यिनले आफ्नो बासस्थान र घुमफिर गर्ने गरिएको पाइएको छ, मगरले भन्नुभयो ।
हरियो, पानी रङसँगै कालो, रातो, सुन्तला छिर्बिरे, भुवादार स्वरूपले यी माकुरा सुन्दर देखिन्छन् । विश्व स्पाइडर क्याटलग अनुसार विश्वमा छ हजार २१५ प्रजातिका माकुरा पाइन्छ । नेपालमा १७५ प्रजातिका माकुरा
पाइएको एक पुरानो तथ्याङ्क छ । जम्पिङ स्पाइडरका प्रजातिका बारेमा भने कुनै अध्ययन भएको पाइएको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?