logo
२०८० चैत्र १५ बिहीवार



कार्यदलकाे प्रतिवेदनमाथि मङ्गलबारबाट छलफल थाल्ने तयारी

मुख्य समाचार |


कार्यदलकाे प्रतिवेदनमाथि मङ्गलबारबाट छलफल थाल्ने तयारी


लक्की चौधरी

काठमाडौँ, भदौ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टी कार्यदलले बुझाएको प्रतिवेदन माथि मङ्गलबारदेखि छलफल प्रारम्भ गर्दै हुनुहुन्छ । कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । अध्यक्षद्वयले प्रतिवेदन विषयमा केन्द्रित भएर छलफल गर्ने सल्लाह भएपनि समय अझै तय भइनसकेको बालुवाटार स्रोतले बताएको छ ।

 मङ्गलबार विहान बालुवाटारमा छलफल हुनसक्ने सम्भावना रहेको सचिलायका सदस्यहरूको भनाइ छ । सोमबार छलफल गर्ने तयारी भएपनि समय नमिलेपछि मङ्गलबार दुई अध्यक्षबीच छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो । दुई अध्यक्षबीच प्रतिवेदनमाथि छलफल सकिएलगत्तै सचिवालय बैठक आह्वान गर्ने सहमति हुने बताइएको छ । प्रतिवेदनमाथि सचिवालयमा छलफल भएर स्थायी कमिटी बैठकमा छलफलसहित अनुमोदनका लागि लैजाने तयारी अध्यक्षद्वयको छ ।

कार्यदलले मध्यमार्गी बाटोसहितको प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र पार्टी कामलाई पनि विधिपूर्वक सञ्चालन गर्दैजाने सुझाव प्रतिवेदनमा रहेको कार्यदलका सदस्यहरूले बताउनुभएको छ । गत साउन ३० गते गठन भएको कार्यदलले आठ दिन लगाएर तयार गरेको प्रतिवेदनमा यसअघि केन्द्रीय कमिटी बैठकले तय गरेको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, सरकारको कामकाजलाई प्रभावकारी बनाउनुपर्ने, त्यसका लागि पार्टीको परामर्शमा सरकारले काम गर्नुपर्ने, पार्टीका कुनै नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यकाल भरी राजीनामा माग्न नहुनेसमेत सुझाव दिएको छ । दुई अध्यक्षबीच छलफल हुने कुरा भएपनि समय निर्धारण नभएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले बताउनुभयो । मुलुक कोरोना भाइरस सङ्क्रमणमा रहेकाले पार्टीको केन्द्रीय कमिटी बैठक कोरोना नियन्त्रणमा आएपछि बस्ने सुझाव कार्यदलले प्रतिवेदनमा दिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप