logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना नियन्त्रणमा सिद्धार्थनगरले ग-यो कडाइ

प्रदेश |


कोरोना नियन्त्रणमा सिद्धार्थनगरले ग-यो कडाइ


लक्ष्मण पौडेल

भैरहवा, साउन ३० गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कडाइ गर्न थालेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामूहिक भेलालगायत कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।

मानिसहरूको जमघट, भेटघाट, बैठक, समीक्षा गोष्ठी, छलफल, सामूहिक भेलाका कार्यक्रमहरू नगर्ने नगराउने बैठकले निर्णय गरेको छ । धार्मिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधिहरू सञ्चालन नगर्ने तथा चाडपर्वहरू स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर मात्र आ–आफ्ना परिवारका सदस्यहरूले मनाउने पनि नगरपालिकाले निर्णय गरेको छ ।

शैक्षिक संस्थाहरूका प्रशासनिक कार्यबाहेक अन्य गतिविधिहरू अर्को निर्णय नभए सम्मका लागि सञ्चालन नगर्ने पनि निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताउनुभयो । उद्योग–कलकारखाना तथा पसलहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गराएर मात्र सञ्चालन गर्ने निर्णय भएको मरासिनीले जानकारी दिनुभयो ।

उद्योगहरूले नै आफ्ना कामदारलाई राख्न क्वारेन्टाइन तथा आइसोलेसनका पूर्वाधारको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । बैङ्क, सहकारी, लघुवित्त एवं अन्य वित्तीय संस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय वा सङ्घसंस्थाले कम जनशक्ति परिचालन गरी विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

नगरपालिका र वडा कार्यालयबाट स्वास्थ्य सेवा, सरसफाइ दमकल र अन्य अत्यावश्यक सेवाबाहेक बाँकी सबै सेवाहरू साउन २९ देखि भदौ ५ गतेसम्म सञ्चालन नगर्ने निर्णय पनि भएको नगरपालिकाले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि सार्वजनिक बिदाबाहेकका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र कार्यालय सञ्चालन गर्ने पनि नगरपालिकाको बैठकले निर्णय गरेको छ ।

यातायातका साधनहरू अत्यावश्यक कामका लागिबाहेक प्रयोग नगर्न सबैलाई अनुरोध गरिएको छ । विभिन्न सङ्घ–संस्थाहरूलाई कारोना सङ्क्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदिन पनि नगरपालिकाले आग्रह गरेको छ ।

घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, स्वास्थ्य सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । भारतीय सीमामा थप कडा गर्ने, अनुमति प्राप्त व्यक्ति मात्र प्रवेशका लागि आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । कोराना भाइरस सङ्क्रमणको जटिलताका आधारमा नगरपालिकाले जुनसुकै समयमा पनि आवश्यक निर्णय गरी थप व्यवस्थापन पनि गर्न सक्ने निर्णय बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?