logo
२०८१ बैशाख १२ बुधवार



घुस लिने ११ जना कारबाहीमा, नलिने २५ जना पुरस्कृत

प्रदेश |


घुस लिने ११ जना कारबाहीमा, नलिने २५ जना पुरस्कृत
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २९ गते । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिपी राजमार्गमा प्रहरीले सवारी साधनहरूबाट मासिक रुपमा पैसा बुुझ्ने गरेको गुनासो आएपछि गरेको छड्केमा छ जना प्रहरीलाई पक्राउ गरेको छ । आर्थिक प्रभोलनमा परेर आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगर्ने छ जना प्रहरी कर्मचारीहरूलाई निलम्बन गरेको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकारी प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

प्रहरीकै टोलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका पाँच जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यरत एक जना गरी छ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालकसँग विभिन्न बाहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा प्रदेश प्रहरी कार्यालय हेटौँडा झिकाइएको र उनीहरूको सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको थापाले जानकारी दिनुभयो । निलम्बन पर्नेमा दुइ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार डोरबहादुर कार्की, प्रहरी जवान कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रेअन्तर्गतको ईप्रका मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको हो । निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरी चौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।

निलम्बित प्रहरी कर्मचारीहरूको सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । आफ्नो ड्युटीमा इमान्दारी प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने र गैह्र व्यावसायिक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरूबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मुल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको सूचना छ । सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षकसहित ११ जना प्रहरी कर्मचारी निलम्बित भइसकेका छन् भने ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?