logo
२०८० चैत्र १६ शुक्रवार



न्युयोर्कका नर्सिङ होममा मृतकको सङ्ख्या लुकाइयो

अन्तर्राष्ट्रिय |


न्युयोर्कका नर्सिङ होममा मृतकको सङ्ख्या लुकाइयो
तस्विर–न्युर्योक पोष्ट


बर्नार्ड कन्डोन, म्याट सेडेन्स्की र मेघन होयर
न्यूयोर्क, साउन २७ गते । ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शय्याको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ ।
तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो । “यहाँ एक नियमित आकस्मिकताझैँ थियो,” प्रशासक एमिल फुजायेभले भन्नुभयो । “एकपछि अर्को व्यक्तिको मृत्यु भएको थियो ।”
न्यूयोर्कका नर्सिङ होमहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या वास्तवमै ठूलो छ । न्यूयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरूले सङ्कटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।
उनीहरूले नर्सिङ होममा आश्रित व्यक्तिहरूको मृत्युको सङ्ख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पु–याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन ।
राज्यको आधिकारिक केयर होममा भएको मृत्युको सङ्ख्या हालसम्म केवल छ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्र्याटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो सङ्ख्या बताउन इन्कार गरेको छ । अन्य राज्यभन्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ ।
यसै महिनाको शुरुमा नर्सिङ होमसम्बन्धी एक संसदीय सुनुवाईका क्रममा न्यूयोर्कका स्वास्थ्य आयुक्त होवार्ड जुकरलाई राज्यका सिनेटर गुस्ताभो रिभेराले व्यङ्ग्यमिश्रित भनाइ राख्नुभएको थियो, “यही त समस्या हो । यस मुद्दालाई तपाईं अलग रुपमा परिभाषित गर्न प्रयास गरिरहनुभएको छ ताकि तपाईं अरु राज्यभन्दा अझ राम्रो देखिन सक्नुहुन्छ ।”

यसले कति धेरै फरक पार्न सक्छ ?

मे महिनायता, सङ्घीय नियामकहरूले नर्सिङ होमहरूलाई कोरोनाभाइरसबाट व्यक्तिको मृत्युका बारेमा विवरणहरू प्रत्येक हप्ता बुझाउन भनिरहेका छन् चाहे उनीहरूको मृत्यु नर्सिङ होममा होस् वा अस्पतालमा ।
किनभने न्यूयोर्कको प्रकोप उच्चतम विन्दुमा पुगे पनि विवरणहरू तुलनात्मक रूपमा सानो छ । सङ्घीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरूमध्ये पाँचौँ होमले जुनको शुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकी राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ ।
महामारीको सुरुदेखि नै आधा मात्रै गणना गर्दा पनि नर्सिङ होमहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ, र यो सङ्ख्या हजारौँ हुन सक्नेछ ।
सङ्ख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरूमा २१ हजार शय्या खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो । यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक सङ्ख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको सङ्ख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही सङ्ख्या पनि हुन सक्छ । तर ठूलै सङ्ख्यामा शैयाहरू खाली हुँदा शङ्का उत्पन्न गराएको छ ।
न्यूयोर्कको गणना त्रुटिपूर्ण रहे पनि गभर्नर कुमोले अन्य राज्यहरूको तुलनामा राम्रो गरिरहेको भन्न हिच्किचाउनुभएको छैन ।
न्यूयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिक रूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्यूयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरूको सङ्ख्या कूल सङ्ख्याको २० प्रतिशत रहेको दाबी गर्नु हुन्छ ।
उहाँको भनाइमा न्यूयोर्कका नर्सिङ होममा भएको मृत्यु सङ्ख्या दर अन्य राज्यभन्दा कम रहेको छ । पेन्सिल्भेनिया राज्यमा कुल मृतकमध्ये नर्सिङ होममा आश्रितको सङ्ख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्यूजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् ।
कुमोले सोमबार एक प्रेस ब्रिफिङमा भन्नुभयो, “न्यूयोर्कसँग अरु राज्यको तुलना गरौँ, तथ्य विवरण नै हेरौँ । तपाईले देख्नुभएकै छ, न्यूयोर्कका नर्सिङ होममा मृत्यु भएका व्यक्तिको प्रतिशत कूल मृत्यु भएका व्यक्तिको सूचीमा सबैभन्दा तल्लो स्थानमा छ ।”
गत महिनाको एक अर्को ब्रिफिङमा पनि कुमोले अमेरिकी राज्यहरूमध्ये न्यूयोर्क ३५औँ स्थानमा रहेको दाबी गर्नुभएको थियो । “पहिले अरु ३४ वटा राज्यमा गएर कुरा राख्नुहोस् । रिपब्लिकन शासित राज्यहरू फ्लोरिडा, टेक्सास, एरिजोनामा सोध्नुहोस् । त्यहाँ नर्सिङ होमको अवस्था के छ सोध्नुहोस् । यो सबै राजनीति हो ।”
बोस्टन विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी स्वास्थ्यविज्ञ टमस पर्ल्सले न्यूयोर्कमा नर्सिङ होममा २० प्रतिशतको हाराहारीमा वृद्धवृद्धाको मृत्यु भएको तथ्याङ्क विश्वसनीय नरहेको बताउनुभयो । एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणले देशभर ६८ हजार २०० भन्दा बढीको मृत्यु नर्सिङ होम र यस्तै स्थानमा आश्रित व्यक्ति एवं नर्सिङ कर्मचारीको मृत्यु भएको देखाएको छ । अमेरिकामा पछिल्लो विवरण अनुसार कोरोना सङ्क्रमितमध्ये एक लाख ६३ हजारको मृत्यु भइसकेको छ ।
केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरण अनुसार कुल मृतकमध्ये नर्सिङ होममा आश्रितहरूको सङ्ख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्यूयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप