गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २५ गते । भारतले नेपाली सेनालाई दश थान भेन्टिलेटर प्रदान गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड–१९ प्रकोप विरुद्धको सङ्घर्षमा सहयोगी हुने भन्दै नेपाली सेनालाई दश थान भेन्टिलेटर प्रदान गरेको हो ।
नेपाली सेनाको जनस्वास्थ्य तथा सूचना निर्देशनालयका अनुसार भारतले सहयोग गरेको भेन्टिलेटर करिब दुई करोड ८० लाख भारतीय रुपियाँ बराबरको हो । कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी “कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७” को सफल कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य उपकरणहरू उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच राजदूत क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।