logo
२०८१ बैशाख ७ शुक्रवार



‘सिङ्गो देश एक भए कोरोना पराजित हुन्छ’

मुख्य समाचार |


‘सिङ्गो देश एक भए कोरोना पराजित हुन्छ’


दीपक श्रेष्ठ

काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोडिभ–१९) विरुद्धको लडाइँमा ‘नागरिक सबै सिपाही’ भएकाले सरकार–नागरिक मिलेरै महामारीविरुद्ध लड्नुपर्ने बत(ाउनुभएको छ । उहाँले महामारीविरुद्ध सरकारका प्रयास मात्र पर्याप्त नहुने चर्चा गर्नुहुँदै नागरिकमा सतर्कता, सचेतता र स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयनले मात्रै रोगविरुद्ध विजय प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँले नेपालमा कोरोना (कोभिड–१९) सङ्क्रमण जोखिमको अवस्था, यसविरूद्ध सरकारले चालेका कदम र आर्थिक अवस्थालाई खुकुलो गर्ने विषयमा केन्द्रित रहेर स्वास्थ्य एवं आर्थिक विज्ञ तथा नेताहरूसँग मङ्गलबार गर्नुभएको परामर्शमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । करिब पाँच घण्टा लामो छलफलमा विज्ञहरूले बन्दाबन्दीलाई कडाइ गर्ने, २१ दिन तोकेर नै कफ्र्यु लगाउने वा सङ्क्रमण बढेका स्थानमा सिलबन्दी गर्ने र नागरिक उत्तरदायित्व बढाउनेजस्ता मिश्रित सुझाव प्राप्त भएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । त्यस्तै विज्ञहरूले अस्पतालमा पूर्वाधार, आईसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएका छन् ।
सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले छलफलमा प्राप्त आवश्यक र जायज सुझावलाई कार्यान्वयन गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले सिङ्गो देश एकताबद्ध भएर कोरोना सङ्क्रमणलाई पराजित गरिछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ ।”
प्रधानमन्त्री ओलीले महामारी र राष्ट्रिय सङ्कटलाई विरोध गर्ने अवसरका रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दी गरे पनि विरोध, नगरे पनि विरोध । सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।”
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को जोखिमको अवस्थाबारे मङ्गलबार सम्पन्न छलफलमा कोरोनाका कारणभन्दा अन्य रोगबाट मृत्यु हुनेको सङ्ख्या बढी भएकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने सुझाव विज्ञले दिएको जानकारी दिनुभयो । सरकारका प्रवक्ता डा. खतिवडाले कोरोनाविरुद्ध नागरिकमा सतर्कता, सजगता र उच्च मनोबल आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना जोखिम तत्काल कम हुन्छ भन्ने स्थिति नरहेकाले स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै अहिलेको अवस्थामा केही परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले कतिपय क्षेत्रमा जोखिम बढेमा स्थानीय तहले निर्णय गरेर बन्दाबन्दी वा स्थानीय प्रशासनले कफ्र्यु लगाउन सक्ने बताउनुभयो । उहाँले कोभिड–१९ पोजेटिभ देखिएको स्थानमा ट्र्याकिङ र टे«सिङका लागि बन्दाबन्दी गर्नुपर्ने अवस्था आएमा स्थानीय तहले नै निर्णय लिनसक्ने बताउनुभयो ।
उहाँले काठमाडौँमा जोखिम अलि बढेकाले यसलाई व्यवस्थित बनाउनेबारे समेत छलफलमा सुझाव प्राप्त भएको बताउनुभयो ।
छलफलमा सहभागी डा. रवीन्द्र समीरले कोरोना सङ्क्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने विभिन्न उपायबारे छलफल भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?