logo
२०८१ बैशाख १२ बुधवार



कोरोना न्यूनीकरणमा दीर्घकालीन योजना बनोस्ः सभापति देउवा

राष्ट्रिय |


कोरोना न्यूनीकरणमा दीर्घकालीन योजना बनोस्ः सभापति देउवा


लक्की चौधरी

काठमाडौँ, साउन २० गते । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजना बनाएर काम थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बालुवाटारमा बोलाउनुभएको छलफल कार्यक्रममा साँतबुँदे सुझाव दिँदै सभापति देउवाले भन्नुभयो, “उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।”

लकडाउन खुलेपछि पुनः देशभर कोरोना भाइरसले जोखिम बढाउन थालेपछि आवश्यक राय सुझाव लिन विज्ञहरूसहित भेलामा सभापति देउवाले सरकारको काम प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सरकारले अहिलेसम्म गरेको कामको समीक्षा गर्दै थप प्रगतिका लागि लाग्न पनि उहाँले सुझाव दिनुभएको छ । देउवाले बैठकमा भन्नुभयो, “आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गरी सम्पूर्ण रुपले पीसीआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्नेगरी आवश्यक बन्दोबस्त गरियोस् ।”

उहाँले अगाडि थप्नुभयो, “स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गरी अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता दिने काम होस् । मापदण्डअनुरुप क्वारेन्टाइनको यथाशीघ्र व्यवस्थापन गरियोस् ।” विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्याउने व्यवस्था गर्न सुझाव दिँदै सभापति देउवाले नेपालीको उद्दार गर्नुपर्ने स्थितिबाहेक सिमानाकाको आवागमनमा कडाइ र सिल गर्न सुझाउनुभयो । त्यस्तै, सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता सँगै चेतनामूलक अभियानमा आम सञ्चार माध्यमको व्यापक प्रयोग गरिनुपर्ने भन्दै सभापति देउवाले परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिन आग्रह गर्नुभयो ।

सुझाव लिनेमात्र होइन, कार्यान्वयनमा जोड दिन पनि उहाँले सुझाउनुभयो । विभिन्न माग राखेर आमरण अनशनमा बसेका युवाहरूको भावना सम्बोधन गर्न आग्रह गर्दै सभापति देउवाले नागरिकको जीवन रक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, विभिन्न वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा गर्न पनि सुझाव दिनुभएको काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि लडकडाउन अवधि थप गर्नु उपयुक्त भएपनि सरकारले त्यस अवधिमा काम गरेर देखाउनुपर्ने सुझाव दिनुभयो । यसअघिको लकडाउन अवधिमा सरकारले खासै काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

जनस्वास्थ्यका विज्ञहरूले करिब दुई सातासम्म लकडाउन अझै जारी गर्नुपर्ने सुझाव सरकारलाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?