logo
२०८१ बैशाख ७ शुक्रवार

  दुई अध्यक्षबीचकाे विवादबारे युवा नेता भन्नुहुन्छ  



एकता महाधिवेशनसम्म सहमतिबाटै अगाडि जानुको विकल्प छैन

राष्ट्रिय |


एकता महाधिवेशनसम्म सहमतिबाटै अगाडि जानुको विकल्प छैन
युवा नेता वायाँबाट विशाल भट्टराई र मणि थापा


काठमाडौँ, साउन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि ‘दुई अध्यक्षबीचको सहमति’ नै महत्त्वपूर्ण हुने धारणा नेकपाका युवा नेताको छ । नेपाली कम्युनिष्ट आन्दोलनमाविपरीत दुई धारको नेतृत्व गर्ने पार्टीबीचको एकता, प्रतिनिधिसभा निर्वाचन र त्यसयताका पार्टी एकताका बाँकी कामहरू दुई अध्यक्षबीचको सहमतिबाटै भएकाले एकता महाधिवेशनसम्म सहमतिबाटै अगाडि जानुको विकल्प नरहेको धारणा उहाँहरूको छ ।
 
नेकपा स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्र देखिएको विवादलाई ‘जुन सिद्धान्तमा पार्टी एकता भएको थियो त्यसै आधारमा समाधान’ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाधानको अर्को उपाय दुई अध्यक्षबीचको सहमति हो । अहिले बहुमतको आधारमा कुनै पनि निर्णय हुनुहुँदैन । जे निर्णय हुन्छ, दुई अध्यक्षको सहमतिमा हुनुपर्छ, अनि मात्र समाधान निस्किन्छ ।”
स्थायी कमिटी सदस्य थापाले माघमा बसेको केन्द्रीय समितिको बैठकको चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको र त्यस विन्दुबाटै सहमतिमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीले चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो, त्यसको कार्यान्वयनमा जानुपर्छ ।” उहाँले पार्टी एकताको बाँकी काम पुरा गरेर चाँडै महाधिवेशन सम्पन्न गरी एकतालाई पूर्णता दिनुपर्ने बताउनुभयो । नेता थापाले पार्टी र सरकार दुवै एक अर्काको पूरक हुनुपर्ने र एक अर्काको सहयोगबाट मात्र पार्टी र सरकार सफल हुने बताउनुभयो । उपाध्यक्ष गौतमको छ बुँदे प्रस्ताव सकारात्मक रहेको टिप्पणी थापाको छ ।
 
यस्तै, नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईले पार्टीभित्रको विवाद समाधानका लागि वामदेव गाैतमको प्रस्तावबाट छलफल प्रारम्भ गर्नुपर्ने बताउनुभयो । उहाँले वैचारिक हिसाबले दुईतिर फर्किएका पार्टीबीचको एकता, प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार छनोट र एकताका बाँकी प्रक्रियाहरू दुई अध्यक्षबीचकै सहमतिका आधारमा हुँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तरिम विधानतः महाधिवेशनसम्म अल्पमत र बहुमतका आधारमा अगाडि बढ्न सकिन्न । यसरी बढ्ने प्रयास भएमा त्यसले दूर्घटना निम्त्याउँछ ।”
 
उहाँले भन्नुभयो, “पार्टी एकताको भावनाबाहिर गएर समस्याको समाधान खोज्न हुन्न । सहमतिबाटै अगाडि बढेको एकतालाई दुर्घटनामा जान दिनु हुन्न । पार्टीभित्र भूमिका खोज्नुलाई अन्यथा मान्न सकिन्न तर त्यो काम महाधिवेशनमा हो, त्यहीँ बाकस थापौं ।” उहाँले ‘निर्वाचित नेतृत्व, अनुमोदित नीति’ मान्न आफूहरु तयार रहेकाले महाधिवेशनमा मतकै माध्यमबाट नेतृत्व परिवर्तन गर्न सकिने बताउनुभयो । 
 
उहाँले पार्टी केन्द्रीय कमिटी बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको सन्दर्भमा नेतृत्व परिवर्तनको विवाद अनावश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको वस्तुगत आवश्यकताअनुसारको विचार निर्माण गरौँ र विचारलाई नेतृत्व गर्न सक्ने नेतृत्व निर्माण गरौँ  ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?