logo
२०८१ बैशाख ७ शुक्रवार



‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’

मुख्य समाचार |


‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’


दीपक श्रेष्ठ

काठमाडौँ, साउन १७ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका छ बुँदे अवधारणा सार्वजनिक गर्नुभएपछि पार्टीभित्रको विवादमा नयाँ सहमतिको आशा पलाएको हो । यही प्रस्तावका आधारमा विवाद समाधान गर्दै एकता महाधिवेशनसम्म पुग्न सकिने नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ ।
उपनेता नेम्वाङले गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, “प्रस्ताव राम्रो छ, त्यसलाई आधार बनाएर सहमतिमा अगाडि बढ्न सकिन्छ ।” साउन १३ गते नेता गौतमले सहमतिका छ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । उहाँले पार्टीको एकता महाधिवेशनसम्म अध्यक्षसहित पाँच वर्षका लागि केपी शर्मा ओली प्रधानमन्त्री रहने प्रस्ताव गर्नुभएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, सहमतिमा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने, प्रधानमन्त्रीको दैनिक काममा पार्टीले हस्तक्षेप भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका विषयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ । नेता नेम्वाङले फरक धार र उत्कर्षबाट अगाडि बढेका दुई कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया नै सहमतिबाट भएको चर्चा गर्दै भन्नुभयो, “पार्टी एकतासम्बन्धी बाँकी काम एकता र सहमतिको महाधिवेशनबाट हुन्छ ।”
उहाँले भन्नुभयो, “पार्टी विधानमै एकता र सहमतिको महाधिवेशन हुने उल्लेख गरिएको छ । दुई अध्यक्षबीचको सहमति र एकताको विकल्प नै छैन ।” नेता नेम्वाङले थप्नुभयो, “दुई पार्टीबीचको एकताको आधार सहमति हो । दुई अध्यक्षले पार्टीको नेतृत्व गर्नुहुन्छ, यो प्रस्ट छ । यो कुरालाई हेक्का राख्नुपर्छ ।”
उहाँले पार्टीभित्र अल्पमत र बहुमत भन्ने प्रश्न पार्टी एकताको मान्यताविपरीत भएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा दुई अध्यक्ष कोही पनि अल्पमतमा पर्न सक्नुहुन्न । अहिलेको पार्टीको विधि, प्रक्रिया र मान्यता भनेको एकता र सहमति हो ।” उहाँले एकता र सहमतिभन्दा फरक ढङ्गले अगाडि बढ्न खोज्याँै भने त्यो एकता र सहमति त्यही बिन्दुबाट भत्कने समेत बताउनुभयो । उपनेता नेम्वाङले सचिवालयको बैठकले सर्वसम्मत रूपमा चैत अगाडि पनि महाधिवेशनमा जान सकिने भनेर गरेको निर्णय भएको भोलिपल्टैदेखि पुनः विवाद सुरु भएको स्मरण गर्नुभयो ।
यसअघिको केन्द्रीय कमिटी बैठकले चैतमा एकता र सहमतिको महाधिवेशन गर्ने निर्णय गरेको थियो । उहाँले भन्नुभयो, “चैतमा महाधिवेशन गर्ने भन्नेमा कसैको विमति छैन । एकता र सहमतिको महाधिवेशनले सबै कुराको छिनोफानो गर्छ ।” प्रधानमन्त्री ओलीले ‘फेरि पार्टी अध्यक्ष, प्रधानमन्त्री हुन्न र आउने आमनिर्वाचन पनि चुनाव लड्दिन’ भनेर प्रस्ट रूपमा पटक पटक भन्नुभएको स्मरण गर्दै नेम्वाङले भन्नुभयो, “पार्टीभित्र देखापरेका समस्या मिलाएर जान सकिन्छ, जानुपर्छ ।”
उहाँले विचार र सिद्धान्तको विवाद नदेखिएकाले समस्याको समाधान गरेर जान सकिने विश्वास व्यक्त गर्दै कोरोना, बाढीपहिरो, भारतसँगको सम्बन्धमा आएको तिक्तताबीच पार्टीभित्र विवाद भन्दा एक ढिक्का भएर समस्या समाधानतिर लाग्नुपर्ने समयको चुनौती रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सबैको कुरा सुन्दै अध्यक्षद्वयले बाक्लो भेटघाट र छलफल गर्दै समस्यालाई निष्कर्षमा पु¥याउनुपर्छ । ” उपाध्यक्ष गौतमले छ बुँदेमा पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक र संवैधानिक नियुक्ति गर्ने, पार्टीसँगको परामर्शमा नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने, प्रशासन तथा सुरक्षा निकायमा हुने पदोन्नति र सरुवाका लागि निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्नेजस्ता प्रस्ताव सार्नुभएको छ ।
असार १३ गतेका लागि डाकिएको स्थायी समितिको बैठक अघि उपाध्यक्ष गौतमले छ बुँदे सार्वजनिक गर्नुभएको थियो । यो प्रस्तावमा पूर्वमाओवादीका कतिपय नेतालेसमेत सहमति जनाएका छन् । १३ गतेको स्थायी कमिटी बैठक भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाललगायत नेता बालुवाटार पुग्नुभएको थियो ।
बालुवाटारमा भेला भएका स्थायी कमिटीका सदस्यले पार्टीभित्रको समस्या समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । यद्यपि, त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको छैन । पार्टीभित्र कसरी सहमति स्थापित गर्न सकिन्छ भन्ने विषयमा अध्यक्ष ओली र दाहालले आफू निकटका नेतासँग परामर्शलाई भने जारी राख्नुभएको छ । शीर्ष नेताहरू आ–आफ्नो तहबाट सहमतिका लागि क्रियाशील रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?