logo
२०८१ बैशाख ७ शुक्रवार



बन्दाबन्दी अन्त्य भएको घोषणा

मन्त्रिपरिषद् निर्णय

मुख्य समाचार |


बन्दाबन्दी अन्त्य भएको घोषणा


दीपक श्रेष्ठ

काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् रहनेछ ।
सरकारले चैत ११ देखि सुरु गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातसम्म जारी गरेको थियो । १२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा गरिए पनि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सरकारले लगाउँदै आएको रोकलाई साउन ३२ सम्म विस्तार गरिएको छ । यस्तै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने र मालसामान ढुवानीको व्यवस्थालाई यथावत् राखिएको छ । मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी मङ्गलबार मध्यरातदेखि अन्त्य भएको जानकारी दिनुभयो । सरकारका प्रवक्ता डा. खतिवडाले भन्नुभयो, “बन्दाबन्दीले मनोवैज्ञानिक त्रास पनि दियो । एक खालको बहानाबाजी जस्तो पनि भयो ।”
मन्त्री खतिवडाले सेवा र व्यवसाय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइसाथ पालना गर्नुपर्र्ने अन्यथा कानुनी कारबाहीसमेत हुने बताउनुभयो । उहाँले अन्य देशको अनुभव र नेपालको सङ्क्रमणको अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दैनिक रूपमा कोरोना सङ्क्रमणको मूल्याङ्कन गर्नेछौँ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । निको हुनेको सङ्ख्या बढ्दै गएको छ ।”
उहाँले साउन अन्त्यसम्म कोरोना सङ्क्रमण जोखिम विश्लेषणका आधारमा विस्तारै शैक्षिक संस्थालगायत अन्य सेवा र व्यवसायसमेत खोल्दै जाने बताउनुभयो । सरकारले ठूलो सङ्ख्याको जमघट, भेला, गतिविधिसहित शैक्षिक संस्थाबाहेक अन्य क्षेत्रलाई साउन १५ र भदौ १ पछि खुला गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरू, सभा, गोष्ठी, प्रदर्शनी, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखानाबाहेक साउन १५ पछि होटल, रेस्टुरेन्ट (सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाबाहेक), टे«किङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय खुला गर्ने निर्णय गरिएको छ । सरकारका प्रवक्ता डा. खतिवडाले हिउँद यामको पर्यटनलाई ध्यानमा राखेर पर्यटन क्षेत्रका गतिविधि खुला गरिएको जानकारी दिनुभयो ।
यस्तै भदौ १ देखि जोरबिजोर प्रणाली अन्त्यसँगै मध्यम दूरीका निजी तथा सार्वजनिक यातायात खुला गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न खुला गरिएको छ ।
उहाँले सेवा तथा व्यावसायिक कार्यहरू सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने लगायतका जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बत(ाउनुभयो । कुनै पनि स्थानमा सङ्क्रमण फैलिए नियन्त्रणका लागि जिल्ला र प्रदेशले विशेष व्यवस्था गर्नसक्नेसमेत जनाइएको छ ।

कार्यालय समय साविककै
कोरोना जोखिम न्यूनीकरणका लागि दुई सिफ्टमा सञ्चालन हुँदै आएको निजी तथा सरकारी कार्यालय अब साविकअनुसार नै सञ्चालन गरिने भएको छ । प्रवक्ता डा. खतिवडाले भन्नुभयो, “दुई चरणमा कार्यालय सञ्चालन गर्दा भीडभाड कम हुन्छ भनेर त्यो व्यवस्था गरिएको हो । को कति खेर आउने को नआउने भन्ने अलि अन्योलजस्तो पनि भयो । अब कार्यालय पनि १०–५ नै सञ्चालन हुन्छ ।”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?