logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण शुरु

समाज |


प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण शुरु


नवराज कट्टेल

विराटनगर, असार ३१ गते । प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण शुरु गरिएको छ । क्वारेन्टाइन आधारमा हुँदै आएको परीक्षणको दायरालाई समुदायस्तरमा विस्तार गरिने भएको हो ।

परीक्षण र सङ्क्रमण क्वारेन्टाइनमा मात्रै रहेको अहिलेसम्मको अवस्था अध्ययनका लागि समूहगत रुपमा रहेका क्षेत्रबाट परीक्षण कार्य समुदायस्तरमा लैजाने तयारी थालिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

'समुदायमा सङ्क्रमण छैन भन्ने हामीले बुझिरहेका छौँ', मन्त्री घिमिरेले भन्नुभयो, 'प्रदेश सरकारले नमूनाका रुपमा परीक्षणको थालनी गरिसकेको छ ।' उहाँका अनुसार पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्रका एक हजार ५०० जनाको परीक्षण गरिएको र उनीहरूमध्ये कसैमा पनि सङ्क्रमण नदेखिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

दोस्रो चरणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसँगै कोरोना उपचार केन्द्रबाट डिस्चार्ज भएका र क्वारेन्टाइनबाट घर फर्किएकाहरूको परिवार र आसपासका स्थानहरूको छनौट गरेर नमूना परीक्षण गरिने भएको छ ।

यसैगरी, निजी अस्पताल सञ्चालकहरूको सङ्गठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गर्ने तयारी गरिएको छ । त्यसपछि आवश्यकताका आधारमा जोखिम मानिने क्षेत्रको समुदायस्तरमा नमूना परीक्षण गरिने छ ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदायस्तरमा पनि परीक्षण गर्न लागिएको हो । मन्त्री घिमिरेका अनुसार क्वारेन्टाइनमा रहेकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ'का आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरूको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण गर्ने काम समेत भइरहेको बताउनुभएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दोक्रममा रहेको छ । प्रदेश १ को अवस्था भयाभह देखिएको छैन । भारत लगायतका तेश्रो मुलकबाट आउनेहरूमा मात्र सङ्क्रमण देखिँदैआएको छ । प्रदेश १ मा मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या ७३६ र डिस्चार्ज हुनेको सङ्ख्या ६४२ जना रहेको छ ।

लायन्स क्लबद्धारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ । सम्भावित वा शङ्कास्पद व्यक्तिहरूको कोरोना भाइरस परीक्षणका लागि आवश्यक भाइरस ट्रान्सपोर्ट माेडियम (भीटीएम) बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।  किट ग्रहण गर्दै मन्त्री घिमिरेले मानवजाति कोरोनाको प्रकोपबाट प्रताडित भएको बेला सबैको सहयोग आवश्यक रहेको भन्दै सङ्कटका सहयोगी मनप्रति धन्यवाद ज्ञानप गर्नुभएको थियो । कोरोनालाई मानव जातिले पराजित गर्ने निश्चित भएपनि केही समय प्रतिक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पूर्व गर्भनरहरू भीम घिमिरे, लीला ढुङ्गेल, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए वानका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रेवत कार्की, क्याबिनेट सेक्रेटरी विकास अधिकारी लगायतको टिमले मन्त्री घिमिरेलाई भीटीएम हस्तान्तरण गर्नुभएको हो ।

लायन्स क्लबले कोशी अस्पताल विराटनगरलाई एक हजार चार सय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक हजार चार सय भीटीएम किट थप हस्तान्तरण गर्ने जनाएको छ । प्रदेश १ मा १० हजार डलर बराबरको किट हस्तान्तरण हुने लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुमति लिएर लायन्सले भीटीएम वितरण गरिरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?