logo
२०८१ बैशाख १३ बिहीवार



खाँडो नदीको बाढीले घर भत्किँदा विस्थापित

प्रदेश |


खाँडो नदीको बाढीले घर भत्किँदा विस्थापित


धीरेन्द्रप्रसाद साह
राजविराज, असार ३१ गते । पछिल्लो चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरू भत्किएपछि २२ जना विस्थापित भएका छन् ।

बाढीमा कमजोर संरचना भएको फुसका घरहरूमा बढी क्षति पुर्याएको सप्तरी प्रहरीले जनाएको छ । महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडो नदीको बाढीले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो । महदेवा गाउँपालिका-१ स्थित खाँडो नदीको तटीय किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको उहाँले बताउनुभयो । खाँडो नदीमा आएको बाढीले घर भत्किएपछि भुवनको १० जना, रामचन्द्रको सात र पवनको पाँच जना परिवारसहित २२ जना परिवार विस्थापित भएको बताइएको छ ।

त्यसैगरी डाक्नेश्वरी नगरपालिका-३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किँदा ५३ हजार रुपियाँको क्षति भएको प्रहरीले बताइएको छ ।

यसैगरी, तिलाठी कोइलाडी गाउँपालिका-१, बेल्हीस्थित खाँडो नदीको बाढी रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको प्रहरीले बताइएको छ । गत २८ र २९ गते अविरल वर्षाका कारण बाढी बस्तीमा पस्दा क्षति भएको प्रहरी उपरीक्षक प्रसाइँले भन्नुभयो, बाढीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य अझै जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?