logo
२०८० चैत्र १६ शुक्रवार



बुल्गेरियामा चार दिनदेखि सरकारविरोधी प्रदर्शन

अन्तर्राष्ट्रिय |


बुल्गेरियामा चार दिनदेखि सरकारविरोधी प्रदर्शन
तस्विर–अलजजिरा


सोफिया, असार २९ गते। पूर्वी युरोपेली मुलुक बुल्गेरियामा चार दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी सोफियामा भेला भएका तीन हजारभन्दा बढी प्रदर्शनकारीले सरकारी मुख्यालयका साथै संसद भवनसम्म नाराजुलुससहित पैदलयात्रा गरेका थिए । उनीहरूले बुल्गेरियाको वर्तमान सरकार “माफिया” को चङ्गुलमा फसेको आरोप लगाएका थिए ।

सरकार विरोधी प्रदर्शन चर्किएसँगै सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा फौजलाई सरकारी कार्यालयहरू र संसद भवनमा तैनाथ गरिएको छ । यसैबीच, राष्ट्रपति रुमेन राडेभका कानुनी मामिला तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी सचिव एवम् सुरक्षा र रक्षा सल्लाहकारलाई पक्राउ गरी उनीहरूका कार्यालयमा छापा मारिएको छ । उनीहरूमाथि राज्यका गोप्य सूचना चुहाएको आरोपमाथि पनि छानबिन शुरु भएको छ ।

सरकारविरोधी प्रदर्शन आइतबार देशका अरु दश वटा शहरमा पनि भएको थियो । बुल्गेरियाका राष्ट्रपति राडेभले प्रधानमन्त्री बोयको बोरिसोभका मन्त्रिमण्डलमाथि पनि आक्षेप लगाउने गर्नुभएको छ । उहाँले मन्त्रिपरिषदका सदस्यहरूको चारित्रिक स्थिति कमजोर रहेको बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्री बोरिसोभले शनिबार राजीनामा गर्न अस्वीकार गर्नुभएको छ । तर प्रदर्शनमा सहभागीहरूले उहाँको राजीनामाको माग गर्दै दश लाख हस्ताक्षर अनलाइनबाट प्रेषण गरिएको छ । संसदमा मुख्य विपक्षी समाजवादी पार्टीले सरकारविरुद्ध आगामी बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिने बताएको छ । समाजवादीहरूले आफ्नो पक्षमा समर्थन जनाउन अपिल गरेका छन् ।

शुक्रबारको प्रदर्शन भने केही हिंसात्मक पनि भएको थियो । प्रहरीले १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो जसमा प्रहरीको कुटाइबाट घाइते भएका दुई जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो । प्रदर्शनकारीमाथि दमन गरेको भन्दै शनिबार अझ बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । युरोपेली युनियनमा आबद्ध भएको तेह्र वर्ष बितेको भए पनि बुल्गेरियाको आर्थिक अवस्था अत्यन्त नाजुक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बुल्गेरियामा युरोपेली युनियनमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?