logo
२०८० चैत्र १६ शुक्रवार



नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

राष्ट्रिय |


नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान


गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २५ गते । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षक थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । थापा क्षेत्रीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी नेतृत्वलाई व्यवसायिक र पेशाप्रति इमान्दार बन्न निर्देशन दिँदै भ्रष्टाचारमा शून्य सहनशीलता र कानुन कार्यान्वयनमा कडा बन्न नेतृत्व सक्षम हुनुपर्ने बताउनुभयो ।
प्रहरी प्रमुख छनोटमा हुने घृणित परम्परा हटेको चर्चा गर्दै उहाँले नवनियुक्त महानिरीक्षक थापा क्षेत्री र अर्का दावेदार प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालबीचको भद्रसहमति प्रसंशनीय रहेको बताउनुभयो ।
'अबको नेतृत्वले उहाँहरूबाट सिक्नुपर्छ', उहाँले भन्नुभयो, 'विगतमा जे जस्ता गतिविधि भए–भए । त्यसको जिम्मेवार प्रहरी सङ्गठनभित्रका सदस्यहरू बन्नुपर्छ । अपारदर्शी र गैरजिम्मेवार कार्य सम्पादन मूल्याङकनका कारण पनि यस्तो समस्या सिर्जना भएको देखिन्छ ।' 
महानिरीक्षक थापा क्षेत्रीले आफ्नो बाेली व्यवहार नम्र र भद्र भए पनि यसको फाइदा उठाउने कार्य कहीँकतैबाट हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 'कानुनी कारबाहीका सवालमा म कसैसँग झुक्नेछैन ।' उहाँले भन्नुभयो ।
आफ्नो नियुक्ति खुशी र चुनौतीकाबीचमा भएको चर्चा गर्दै उहाँले समकक्षी हरिबहादुर पालसँग भएको भद्र सहमतिलाई कतिपयले ‘आफ्नै खुट्टामा आफैँले बन्चरो हानेको’ संज्ञा दिएपनि देश र नागरिकको सुरक्षा र प्रहरी सङ्गठनको हितका लागि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, एआइजीहरू, सातवटै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?