logo
२०८० चैत्र १६ शुक्रवार

  विपद्का २४ घण्टा  



एकैदिन १६ घटना भए, १० जनाको ज्यान गयो

राष्ट्रिय |


एकैदिन १६ घटना भए, १० जनाको ज्यान गयो


चाँदनी हमाल
काठमाडौँ, असार २० गते । विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
जसमध्ये सबैभन्दा ठूलो घटना बझाङको केदारस्युँ गाउँपालिका गएको पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यहाँ पहिरोमा बेपत्तामध्ये छ जनाको शव फेला परेको छ । थप एकको अझै खोजी जारी छ । त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको ज्यान गएको छ ।
बझाङमा पहिरोले घर बगाएपछि विचल्लीमा परेका १८ घरपरिवारलाई स्कुलमा राखिएको छ । गाउँ जाने बाटोमा रहेको खोलामा बाढी आएको र पानी परिरहेकाले उद्धार टोली पुग्नसमेत कठिनाइ भएको थियो । स्थानीय उद्धार टोली मध्यान्ह पुगेर काम थाले पनि हेलिकप्टरमा राहत र थप उद्धारको टोली पुर्याउन कठिन भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको मृत्यु भएको छ भने सात लाख बराबरको धनमाल क्षति भएको छ । उता गुल्मीमा पनि पहिरो जाँदा दुई वटा गोठ र चौपायासहितको भौतिक क्षति भएको जनाइएको छ ।
सर्पदंशबाट एकैदिन तीनजनाको मृत्यु
शनिबार एकैदिन सर्पदंशका कारण तीन जनाको मृत्यु भएको छ । सिरहामा दुइ र धनुषामा एक गरी तीनजनाको सर्पदंशले मृत्यु भएको प्राधिकरणले उल्लेख गरेको छ । सर्पदंशबाट मृत्यु हुनेमा सिरहाका दुई बालिका र धनुषाका एक बालक रहेका छन् । सर्पदंशमा परेका नुवाकोटका एकजनाको उपचार भइरहेको छ ।
चार स्थानमा आगलागी
वर्षाको मौसम भए पनि विभिन्न स्थानमा आगलागी हुँदा भौतिक क्षति भएका छन् । खोटाङ, मोरङ, डोल्पा र भक्तपुरमा गरी चार स्थानमा आगलागी भएको हो ।
यसैबीच मकवानपुरको हेटौँडामा चट्याङ लागेर एकजना घाइते भएका छन् ।
प्युठान र कैलालीमा बाढी
प्यूठानको नौबहिनी गाउँपालिका-६, लाखचौरमा बाढीले निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । जसका कारण ४० लाख नोक्सान भएको छ । त्यस्तै कैलालीको बर्दगोरिया वडा नं. ६ बास्कोटीमा एक्कासि बाढी पस्दा १२ घर डुबानमा परेका छन् । कैलालीकै जोशीपुर गाउँपालिकाका काढा नदीको बाढीले एक घर बगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?