logo
२०८० चैत्र १५ बिहीवार

  नेपालमा सलह अपडेट  



झुण्ड सानो बन्दै, उड्ने क्षमता कम, राजस्थान फर्कन खोज्दै

राष्ट्रिय |


झुण्ड सानो बन्दै, उड्ने क्षमता कम, राजस्थान  फर्कन खोज्दै


केशवराज पौडेल
काठमाडौँ, असार १६ गते । दैनिक १२ घन्टासम्म उड्न सक्ने सलह नेपालमा भने लामो समय उड्न नसकेको पाइएको विज्ञहरूले बताउनुभएको छ ।
सलहको प्राकृतिक बासस्थान भारत, पाकिस्तान र अफ्रिकाको मरुभूमि भएकाले सलह त्यता जान खोजिरहे पनि हावाको बहावको कारणले त्यता सहजै फर्कन नसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुुभयो ।

'देशका विभिन्न भागका कृषि वैज्ञानिकहरूले अहिले यसको गतिविधिलाई अध्ययन गरिरहेका छन्, प्रारम्भिक अध्ययनबाट ‘हावाको बहावसँगै प्राकृतिक बासस्थानमा जान सलहले ठाउँ खोजिरहेको देखिन्छ,' हुमागाईंले भन्नुभयो । नेपालमा सलहले हावासँगै बगे पनि नेपालको हावापानी सलहको रुचिको बासस्थान नभएको उहाँले बताउनुभयो ।

सलहले एक घन्टामा १० देखि १५ किलोमिटरको यात्रा गर्ने र दैनिक १२ घन्टासम्म उडान भर्ने क्षमता राख्छ तर नेपालमा प्रवेश गरेको सलहको झुण्डले एकदेखि दुई घन्टाको उडेपछि पुनः बस्ने गरेको पाइएको हुमागाईंले बताउनुुभयो । ‘अरु देशमा सलह उड्ने प्रकृति र नेपालमा फरक छ’ उहाँले भन्नुभयो ।
'शनिबार पूर्वी नेपालबाट प्रवेश गरेको सलह केही घन्टामा तितरबितर भए पनि आइतबार रुपन्देहीको कपिलवस्तुमा नयाँ झुण्ड प्रवेश गरेर किसानको अन्नबालीमा क्षति पुर्याएको छ,' हुमागाईंले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

शनिबार सर्लाहीबाट प्रवेश गरेको झुण्ड बारा, पर्सा, मकवानपुर हुँदै महाभारत पर्वत शृङ्खलाको क्षेत्रहरूमा प्रवेश गरेको हुँमागाईंले बताउनुयो । सर्लाहीको झुण्ड काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको क्षेत्रमा समेत देखिएको हो ।

सिन्धुलीको भिमान, त्यसपछि चियाबारी क्षेत्रमा देखिएको सलह काभ्रेको पाँचखालहुँदै मण्डनदेउपुरबाट मेलम्ची नगरपालिकातर्फ लागेको मण्डनदेउपुर–७ का काभ्रेपलाञ्चोकका कृषक शम्भु पराजुलीले बताउनुुभयो । कृषक पराजुलीले सलह हवाईजहाज उडेजसरी १८ सय मिटरसम्मको उचाइमा उडेको आफूले देखेको बताउनुभयो । सलहको केही समूह टुक्रिएर पाँचखाल नगरपालिका क्षेत्रमा समेत देखिएको प्रताप तामाङले बताउनुभयो । सलह देखिएपछि रोप्न ठिक्क पारेको धानको बीउमा नजिकै थाल ठटाउने गर्नुभएको थियो ।

रुपन्देहीको सैनामैनामा देखिएको सलह बुटवल, पाल्पा, स्याङ्जामा समेत देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख हुमागाईंले भन्नुभयो । सलह हावाको विपरीत दिशातर्फ उठ्न नसक्ने भएकाले हावा बगेको ठाउँतिर बगेको हुमागाईंले स्पष्ट पार्नुभयो । 'एक महिनाअघि मेरो संयोजकत्वमा बनेको कार्यदलले समेत नेपालमा सलह नआउने प्रतिवेदन बुझाएको र एकै दिनमा हावाको बहावमा परिर्वतन आएपछि सलह नेपालमा प्रवेश गरेको हाे ।' उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

सलहको बथान नेपालमा प्रवेश गरेमा त्यसले निक्कै असर पार्ने र अहिले झुण्डमात्रै प्रवेश गरेको हुमागाईंले बताउनुभयो । अहिले हावा उत्तरबाट पश्चिमतिर बगेकाले जनकपुर र विराटनगरलाई बायाँ र महाभारत पर्वतको शृङ्खलालाई दायाँ पारेर झुण्ड हिँडेको बताउनुभयो । रोल्पातिर बढेको झुण्ड र सिन्धुलीको झुण्ड कृषि क्षेत्रमा भन्दा पनि जङ्गलमै बसेकाले क्षति कम भएको बताउनुभयो ।

कपिलवस्तुमा किसानहरू धान रोप्न व्यस्त भएकाले थाल ठटाएर, आगो बालेर र स्वर निकालेर भगाउन सक्ने भएपनि किसानको उपस्थिति कम भएपछि सलह किसानको खेतमै बसेको सुनाउनुभयो ।

भारतमा सलह व्यवस्थापनमा निक्कै राम्रो प्रयास भएकाले नेपालमा सानो दुई वटा झुण्ड मात्रै प्रवेश गरेकाले क्षति कम पारेको उहाँले स्पष्ट पार्नुभयो । ‘भारतमा करिब ५० प्रतिशत सलहको किटनाशक विषादीको प्रयोग गरेर नष्ट पारिएको छ’ हुमागाईंले भन्नुभयो ।

नेपालको मौसम र हावापानी सलहको रुचि नभए पनि हावाको बहावको कारणले केही दिन बस्नसक्ने भएकाले सतर्क हुन किसानलाई उहाँले अनुरोध गर्नुभएको छ ।
सुदूरपश्चिमको डडेलधुरा, डोटी र बाजुरामा सलह नदेखिएको र तराई र भित्री मधेशका जिल्लाहरूमा देखिएकाले झुण्ड हावाको बहावको कारण जुनसुकै जिल्लामा समेत जान सक्नेमा सतर्क रहन सबैमा अनुरोध समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?