logo
२०८१ बैशाख ८ शनिवार



कोरोना महामारी नियन्त्रणतर्फ

राष्ट्रिय |


कोरोना महामारी नियन्त्रणतर्फ


महेन्द्र विष्ट

विराटनगर, असार १६ गते । असार महिना सुरु भएसँगै प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको छ ।
पछिल्लो दुई साताको अवधिमा नयाँ सङ्क्रमित थपिनेभन्दा उपचारपश्चात् निको भएर घर फर्कनेको सङ्ख्या बढी हुन थालेपछि यो प्रदेशमा कोरोनाको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको हो ।
भारतबाट नेपाल फर्कनेको सङ्ख्यामा आएको कमीसँगै प्रदेश १ मा कोरोनाको सङ्क्रमण पनि घट्दो दरमा देखिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । असार लागेयताको दुई सातामा प्रदेश १ मा कुल १९४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २२७ जना निको भएर घर फर्किएका छन् ।
गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केमा पहिलोपटक कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेलापरेको हो । त्यसपछि झापा, मोरङ र सुनसरी बढी प्रभावित देखिए । झापामा हालसम्म कुल २१८ जनामा कोभिड–१९ को सङ्क्रमण देखापरेको छ । त्यसमध्ये १७१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । मोरङमा १५६ सङ्क्रमितमध्ये ८७ जना, सुनसरीमा ८६ मध्ये ५९ जना, उदयपुरमा ६७ जनामध्ये ४१ जना र इलाममा आठ जना सङ्क्रमितमध्ये दुई जना उपचारपछि निको भएर घर फर्किएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यस प्रदेशका पहाडी जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका सबै सङ्क्रमित निको भएर घर फर्किएका छन् भने अर्को पहाडी जिल्ला खोटाङमा सोमबार पुनः चार जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
वैशाखको पहिलो साता उदयपुरको भुल्केमा समुदायस्तरमै ठूलो सङ्ख्यामा देखिएको कोरोना भाइरसको सङ्क्रमण झन्डै एक महिनाअघि नै नियन्त्रणमा आइसकेको छ । उदयपुरपछि कोरोनाको सङ्क्रमण बढी देखिएको झापाको कचनकवल गाउँपालिकामा पनि नियन्त्रणको अवस्थामा पुगिसकेको छ ।
मोरङको रतुुवामाई नगरपालिकामा पनि सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा छ । उक्त नगरपालिकामा कुल ६४ जना सङ्क्रमित देखिएकामा हालसम्म २६ जना उपचारपश्चात् निको भएर घर फर्किएका छन् । भारतसँग सीमा जोडिएको रतुवामाईले सुरुदेखि नै सीमा क्षेत्रमा कडा निगरानी गरेपछि भारतबाट आएका सङ्क्रमितहरू समुदायमा पुग्न नपाएकाले महामारी फैलिनबाट स्थानीय समुदाय जोगिएको रतुवामाई नगरपालिकाका प्रमु्ख रविन राईले बताउनुभयो ।
त्यसैगरी सुनसरीमा पनि सबैभन्दा बढी सङ्क्रमित देखिएको कोसी र हरिनगरा गाउँपालिकाको अवस्था सामान्य बन्दै गएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?