logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा एकै दिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित


नयाँदिल्ली, असार १२ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको दैनिक सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।

अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।

उनीहरूले भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ५८.२४ प्रतिशत बिरामी सङ्क्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरूले सकारात्मक सङ्केतका रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकामध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ । त्यसैगरी, केन्द्रीय राजधानीसमेत रहेकाे दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बङ्गाल र उत्तर प्रदेशमा १५/१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु कश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?