logo
२०८० चैत्र १६ शुक्रवार



फोहोरबाट मोहोर बटुल्दै मध्यपुर थिमी

मुख्य समाचार |


फोहोरबाट मोहोर बटुल्दै मध्यपुर थिमी


नगेन्द्र सापकोटा

भक्तपुर, असार ३ गते । मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ ।
दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।
मल उत्पादन प्रभावकारी भएपछि नगरपालिकाले यसलाई प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने आन्तरिक तयारी गरेको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसी प्रालिको प्राविधिक सहयोगमा मल उत्पादन कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । यही प्रविधिबाट मल उत्पादन गर्न काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, सूर्यविनायक, टोखा, चन्द्रागिरि नगरपालिकाले स्थलगत अध्ययन गरिसकेका छन् ।
त्यस्तै काभ्रेको पाँचखाल, दोलखाको जिरी नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाले स्थलगत अध्ययन गरी मल उत्पादन गर्ने आन्तरिक तयारी गरेका छन् । त्यस्तै चितवनका राप्ती नगरपालिकाले यही प्रविधिबाट मल उत्पादन गर्न आवश्यक पूर्वाधार तयार गरेको नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
सहरी क्षेत्र र सहरोन्मुख क्षेत्रका घरबाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती बनेका बेला मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन गरेपछि धेरैको आकर्षणको केन्द्र बनेको हो । श्रेष्ठका अनुसार अहिले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, कृषक, विद्यार्थी, वातावरणविद्, जनप्रतिनिधिले स्थलगत अनुगमन गरी चासो राख्ने गरेका छन् ।
नगरपालिकाका कानुन तथा प्रशासन महाशाखा प्रमुख केशव सिलवालले नगरपालिकाले सुरु गरेको काम देशकै लागि नमुना बनेको बताउनुभयो । प्रशिक्षण केन्द्र निर्माणका लागि नगरपालिकाको नगर सभाले निर्णय गरी आवश्यक भौतिक पूर्वाधार र दक्ष जनशक्तिको व्यस्थापन नगरपालिकाले गर्ने तयारी गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?