logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा जमिन बाँझो नराख्ने नीति

मुख्य समाचार |
फिचर |


उपत्यकामा जमिन बाँझो नराख्ने नीति


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ २७ गते । काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् ।
कोरोना भाइरस रोग (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् । खेतीयोग्य जमिनको सदुपयोग गर्न र क्वारेन्टाइनको व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका १८ वटै पालिकालाई एउटै एकाइ मान्दै ती क्षेत्रका खेतीयोग्य जमिन बाँझो नराख्ने नीति निर्माणको आन्तरिक तयारीमा जुटेको दुवै महानगरपालिकाले जनाएका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा दुईवटा महानगर र १६ वटा नगरपालिका रहेका छन् । काठमाडौँ र ललितपुर महानगरबाहिर ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेकाले ती क्षेत्रका बाँझो जमिनलाई अनिवार्य रूपमा सदुपयोग गर्ने र त्यसका लागि सबै पालिकाले साझा कोष निर्माण गर्ने गरी दुवै महानगरले आगामी वर्षको बजेट निर्माण गर्ने गृहकार्य गरिरहेको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्ने र उपत्यकामा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने गरी ललितपुर महानगरपालिका मात्र नभई सबै पालिकाले साझा धारणा बनाउनुपर्ने बताउनुभयो ।
उपत्यकामा खेतीयोग्य जमिन कृषि कार्यमा मात्र प्रयोग गर्ने र खेती नहुने ठाउँमा पशुपालन गर्ने कार्यका लागि सबै पालिकाले साझा कोष खडा गरी लगानी गर्ने, उत्पादित वस्तुलाई निश्चित निकायले खरिद गरी बिक्री वितरणको व्यवस्था गर्ने नीति बनाउन आन्तरिक तयारी भइरहेको बताइएको छ ।
यही असार १० गतेभित्र सबै स्थानीय सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रमुख महर्जनका अनुसार ललितपुर महानगरले प्रत्येक वडामा होल्डिङ सेन्टर निर्माण, जमिन बाँझो राख्न नदिने, जग्गा नभएका तर घर मात्र भएका व्यक्तिले अनिवार्य रूपमा कौसी खेती गर्नुपर्ने नीति बनाउन लागेको छ ।
जग्गाधनीले जग्गा बाँझो राखेमा सँधियारले खेती गर्न सक्ने र नगरे त्यस्तो जमिनमा महागनरपालिकाले खेती गर्न चाहने व्यक्तिलाई अनुदान सहितको आर्थिक सहयोग गर्ने नीति बनाइने प्रमुख महर्जनले बताउनुभयो ।

काठमाडौँका तीन प्रमुख प्राथमिकता
काठमाडौँ महानगरपालिकाको आगामी वर्षको मुख्य प्राथमिता नै स्वास्थ्य, रोजगार र शिक्षा रहने गरी बजेट निर्माणको आन्तरिक तयारी भइरहेको छ । कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्ने, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पु¥याउँदै उत्पादन र रोजगारमूलक कार्यमा बजेट खर्च गर्ने गरी महानगरपालिकाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको काठमाडौँ महानगरपालिकाका उपप्रमखु हरिप्रभा खड्गी (श्रेष्ठ)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ महानगरपालिकामा ७७ जिल्लाका नागरिक बसोबास गर्ने भएकाले ७७ जिल्लाका नागरिकको समस्या समाधान गर्ने गरी बजेट निर्माण गर्ने तयारी छ ।
काठमाडौँमा खाली जग्गा नभए पनि उपत्यकाका १६ नगरपालिकामा भएको जमिनमा एकीकृत खेती प्रणालीका लागि सबै पालिकाले साझा धारणा बनाउनु आवश्यक भएको उहाँले बताउनुभयो । बन्दाबन्दीको अवधिमा महानगरपालिकाले भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठनलाई सहजता गर्ने आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा उल्लेख गरिने महानगरपालिकाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?