logo
२०८० चैत्र १६ शुक्रवार



घोडाघोडी नगरपालिकाको ४९ क्वारेन्टाइनमा २३ सय नागरिक

प्रदेश |
फिचर |


घोडाघोडी नगरपालिकाको ४९ क्वारेन्टाइनमा २३ सय नागरिक
फाइल तस्बिर



चाँदनी आचार्य
लम्की,जेठ २० गते । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीलाई कैलालीका विभिन्न स्थानीय तहको क्वारेन्टाइन राखिएको छ । दिनप्रतिदिन भारतबाट आउनेको संख्या बढेसँगै कोरोना संक्रमणको जोखिम बढ्नुको साथै क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा हाल क्वारेन्टाइनमा बस्नेको संख्या दुइहजार तीनसय पुगेको छ । पालिकाको १२ वटा वडामा रहेका ४९ विद्यालयको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । भारतका विभिन्न शहरबाट आएका उनीहरु प्रत्येक क्वारेन्टाइनमा चार जना देखि १५१ जना बस्ने गरेका छन् ।

राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा रहेको क्वारेन्टाइनमा १६ वटा कोठामा १५१ जना बसेका छन् । विद्यालयका प्रधानाध्यापक सुबोध कुमार शर्माले विद्यालयमा ८ वटा शौचालय र पानीको धारा १५१ जनाले प्रयोग गर्दा समस्या आएको बताउनुभयो । क्षमता भन्दा बढी भएकाले शौचालय र पानीको धारा सबैले प्रयोगगर्दा थप जोखिम देखिएको छ । घोडाघोडी ४ का निसान्त बुढा मगरले भन्नुभयो ‘भारतको दिल्लीबाट नेपाल आउने भन्दा बढी जोखिम क्वारेन्टाइनमा छौ , सिमा मै परिक्षण गरेर सुरक्षित घर पठाइदिएको भए हामी होम क्वारेन्टाइनमै बस्ने थियौ।’

तराईको जेठ महिनामा क्षमताभन्दा बढी मानिसहरु विद्यालयको क्वारेन्टाइनमा बस्दा एकजनामा भएको संक्रमण अरुमा पनि फैलिने डर त्यहाँ बस्नेहरुलाई लागेको छ । त्यतीमात्र नभई घरबाट खाना लिएर आउने परिवारका सदस्यमा समेत संक्रमणको जोखिम बढ्न सक्ने भन्दै चिन्ता बढ्न थालेकाे छ ।

नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले शुरुमा थोरै संख्या हुदा उनीहरुलाई क्वारेन्टाईनमै खानाको    व्यवस्था गरिए पनि अहिले दिन प्रतिदिन संख्या बढ्दै गएपछि उनीहरुलाई घरबाट नै खाना खुवाउने ब्यवस्था गरेको बताउनुभयो । पालिकाका करिब आठहजार नेपाली भारतका विभिन्न शहरमा कामका लागि गएको बताउँदै नगरप्रमुख चौधरीले करिब छ हजार नेपाली घर फर्कंदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले जतिसक्दो राम्रो गर्ने प्रयास गरेका छौं, स्रोत साधनले थेग्ने जति गर्छौ, संख्या वृद्धिसँगै जोखिम पनि बढेको छ सबैलाई संयम भएर बस्न पनि आग्रह गरेका छौं।’

२११ जनाको आरडिटी परीक्षणमा ११ जना पोजेटिभ भेटियाे

घोडाघोडी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेकाहरु मध्ये २११ जनाको आरडिटी परीक्षण गरिएको छ । २११ जनाको आरडिटि टेष्ट गर्दा ११ जनामा आरडिटि पोजेटिभ देखिएको छ । पोजेटिभ रिर्पोट देखिएका उनीहरुलाई अलग्गै राखेर स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि धनगढी पठाउने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?