logo
२०७७ असार २८ आईतवार

रोगभन्दा भोकको चिन्ता:   अशक्त, विपन्न र स्वास्थ्यकर्मी समस्यामा

प्रदेश |


2020-05-29-15299


प्युठान, जेठ १६ गते ।  यहाँका बिरामी र दीर्घरोगी गाउँलेले होम क्वारेन्टिनमा राख्न नमानेपछि असहज अवस्थाकाबीच सामुदायिक क्वारेन्टिनमा बस्न बाध्य छन् । बिरामी, सुत्केरी र गर्भवतीसमेत खानपान र अव्यवस्थित बसाइका कारण समस्यामा परेका हुन् ।
शिशु गुमाएर पीडामा पर्नुभएका ऐरावती गाउँपालिका–६ बिजुली थामकी सम्झना परियारलाई क्वारेन्टिनमा बस्दा पौष्टिक आहाराको अभावमा थप समस्या झेल्नुप¥यो । सुत्केरी अवस्थामा चाहिने झोलिलो पदार्थ, अण्डा, माछामासु, फलफूल, गेडागुडी, दूधलगायत खाना नपाएपछि चक्कर लाग्ने गरेको परियारको गुनासो छ । “कमजोरीले केही समय बेहोस भएर समस्या भयो”, परियारले भन्नुभयो, “अहिले राम्रोसँग उभिन सक्दिन ।” गत वैशाख २७ गते व्यथा लागेपछि २८ गते भैरहवा मेडिकल कजेलमा पु¥याइएकी परियार ३० गते शल्यक्रिया गरेर सुत्केरी हुनुभयो । शिशुको स्वास्थ्यावस्था नाजुक रहेका कारण चार दिनसम्म आइसियूमा बसेकी परियारले जेठ २ गते शिशुसमेत गुमाउनुप¥यो । शिशु गुमाएपछि बेहोश उहाँका साथमा कुरुवाका रुपमा ससुरा र छिमेकी जेठानी दिदी थिए । सुत्केरी परियारका ससुरा डोरबहादुर दमाईँ बेहोश बुहारी लिएर एम्बुलेन्समा घर फर्कनुभयो ।
गाउँमा पुग्नासाथ जनप्रतिनिधिले क्वारेन्टिनमा लैजान भनेपछि उहाँलाई थप समस्या भयो । जेठ २ गते राति क्वारेन्टिनमा आएकी बुहारीको पाँच दिनपछि मात्रै होश आएको दमार्इँले सुनाउनुभयो ।
मल्लरानी गाउँपालिका–४ गहतेराका राजु थापाले सोही क्वारेन्टिनमा मंगलबार श्रीमती गुमाउनुभयो । ब्रेन ट्युमरको फागुनमा दोस्रो पटक शल्यक्रिया गरी अस्पतालबाट डिस्जार्च भई गाडी रिजर्भ गरी आउनुभएका उहाँले आफ्नी जेठीसासूको घर खाली भएका कारण बस्ने माग गरे पनि सुनुवाइ नहुँदा श्रीमतीलाई छिटो गुमाउनुपरेको गुनासो गर्नुभयो । “छ महिनासम्म बाँच्नुहुन्छ भन्ने चिकित्सकको सुझाव थियो”, थापाले भन्नुभयो “क्वारेन्टिनमा बस्नु परेपछि दुई महिना पनि बचाउन सकिन ।” थापाको परिवार भारतको सरकारी अस्पतालमा कोरोना परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि घर फर्किएको थियो ।
सुत्केरी र दीघरोगीलाई होम क्वारेन्टिनमा राख्न खोज्दा गाउँकै बुद्धिजीवीले समेत चर्को विरोध गरेपछि सामुदायिक क्वारेन्टिनमा राख्नुपर्ने बाध्यता रहेको ऐरावती–६ का वडाध्यक्ष चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । “यहाँ सुरक्षित रुपमा अस्पतालमा गएर आएका बिरामीलाई घरमा राख्ने प्रयास गर्दा अवरोध हुने गरेको छ ”, रानाले भन्नुभयो, “प्रयास गर्दागर्दै नसकेपछि सामुदायिक क्वारेन्टिनमा राख्यौँ ।” भारतबाट आएका अनिवार्य क्वारेन्टिनमा र घरबाट अस्पताल गई फर्केकालाई होम क्वारेन्टिनमा राख्न खोजिएको भए पनि समुदायको अवरोधले सामुदायिक क्वारेन्टिनमै राखिएको रानाको भनाइ छ ।
यहाँका चार हजारभन्दा बढी क्वारेन्टिनमा रहेकामध्ये छ सुत्केरी, आठ गर्भवती र ६० भन्दा बढी दीर्घरोगी रहेको स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । क्वारेन्टिनमा पायल्स, उच्च रक्तचाप, मधुमेहलगायत रोगी रहेको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दीर्घरोगीलाई अस्पतालबाट औषधि ल्याइदिने व्यवस्था मिलाइएको छ ।
एम्बुलेन्समा अस्पतालबाट आएकी सुत्केरीलाई क्वारेन्टिनमा राख्न नचाहे पनि स्थानीयवासीको दवावले यस्तो गर्नुपरेको ऐरावतीका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो । “सुत्केरीका छिमेकीले घर जान नदिएपछि क्वारेन्टिनमा राख्न बाध्य भयौँ”, अध्यक्ष शाहले भन्नुभयो, “अब तत्काल ¥यापिड डाइग्नेष्टिक टेष्ट९आरडिटी० परीक्षण गरी घर फर्काउने व्यवस्था मिलाउछौँ । ”
बिरामी, दीघैरोगी, सुत्केरी र गर्भवतीसमेतको अवस्था पहिचान गरी होम क्वारेन्टिनमा राख्ने जनप्रतिनिधिको सोच रहे पनि गाउँलेको दवावले थेग्न नसक्दा अशक्तले कठिनाइ व्यहोर्र्नुपरेको उहाँको तर्क छ । देशका विभिन्न जिल्लाबाट आएका अन्य गर्भवती र सुत्केरी पनि सामुदायिक क्वारेन्टिनमा समस्या भोगेरै घर फर्केका छन् । गर्भवती, सुत्केरी, दीर्घरोगीलगायतको व्यवस्थापन र सामान्य मानिसको व्यवस्थापनमा फरक नहुँदा उनीहरुलाई समस्या भएको हो ।
स्वास्थ्यावस्थाका दृष्टिले अन्यभन्दा गर्भवती, सुत्केरी र दीर्घरोगीको वर्गिकरण गरी क्वारेन्टिन व्यवस्थापन गर्र्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले बताउनुभयो । उहाँले अर्बुदरोग, मधुमेह, ज्येष्ठ नागरिक, सुत्केरी र मिर्गौला रोगीकको अलगअलग तरिकाले व्यवस्थापन गर्न सुझाउनुभयो ।

रोगभन्दा भोकको चिन्ता

सन्धिखर्क– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– २ कुरकी ७० वर्षीया पुतला नेपाली दिनभर गिट्टी कुटेर जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँलाई कोरोना रोगको भन्दा छाक कसरी टार्ने भन्ने चिन्ता छ । सन्धिखर्क –९ पाथ्राबांग निवासी ५३ वर्षीया एकल महिला झुम्की विकलाई पनि बन्दाबन्दीका समयमा कसरी दैनिक गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । अन्य समयमा अरुका घरमा गएर दैनिक मजदूरी गरेर दुई छाक जुटाउने विकले बन्दाबन्दीपछि कसैका घरमा काम पाउनुभएको छैन ।
काम नपाएपछि उहाँले सन्धिखर्क, अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गर्नुभएको छ । दिनभरि कुटिएको गिट्टी बेचेर बिहानबेलुकाको छाक टार्ने गरेको उहाँको भनाइ छ । “घरमा गर्र्ने अरु कोही छ्रैनन्, कसरी खाने भन्ने समस्या छ”, उहाँले भन्नुभयो, “छोराहरु साना छन् । कतै केही काम पाइँदैन । यही ढुङ्गा फोरेर परिवार पालेकी छु । ”
सरकारले कोरोनाबाट बच्नका लागि बन्दाबन्दी गरेसँगै गरीब तथा अतिविपन्न परिवारमा भोकको चिन्ताले सताएको छ । उनीहरुलाई रोग सर्छ, बाहिर जानु हुँदैन भन्ने थाहा भए पनि छाक टार्न काम नगरी नहुने बाध्यता छ ।
पुतला र झुम्की मात्र होइन पाथ्राबांगकै कमला विकको पनि समस्या उस्तै छ । रोजगारीका लागि भारतमा गएका श्रीमान् तीन महिनादेखि बेकामे भएर बसेपछि कमलालाई परिवार पाल्न समस्या भएको छ । “श्रीमान्ले पठाएको पैसाबाट घरपरिवार चलेको थियो, उताबाट पैसो आउन पनि छाड्यो, केही सीप नचलेपछि बाटोमै बसेर गिट्टी कुट्ने गरेकी छु ” , कमला भन्नुहुन्छ । अन्य समयमा काम पाउन सजिलो भए पनि कोरोना संक्रमणका कारण घरायसी काम नपाएको उहाँको भनाइ छ । “बाहिर निस्कनु हुँदैन भन्ने पनि थाहा छ तर ननिस्किए खान पुग्दैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले दिएको चामल खाएर सकियो । अब त कसैले दिँदैन, गिट्टी कुटेर यही बेची रासन खाएकी छु ।” गरीब तथा अतिविपन्न परिवारलाई स्थानीय तहले राहत वितरण गरेको छ तर छाक टार्न पर्याप्त नभएको उनीहरुको गुनासो छ ।
बन्दाबन्दीले दुई महिना नाघिसकेको छ । स्थानीय तहले यस अवधिमा ३० केजी चामल, केही दाल र अन्य सामग्री वितरण गरे पनि परिवारको गुजारा चलाउन अपुग भएको कमलाको भनाइ छ । पालिकाले वितरण गरेको राहत अधिकांश परिवारमा १५ दिनमै सकिएको विपन्न परिवार बताउँछन् ।
सम्पन्न र धनी परिवारले समेत राहत पाउनुपर्ने माग गरेपछि भूमिकास्थान नगरपालिकाले हालसम्म राहत बाँड्न सकेको छैन । बन्दाबन्दी भएको दुई महिना बितिसक्दा समेत राहत वितरण नभएपछि पालिकाका गरीब तथा विपन्न परिवार झनै समस्यामा परेका छन् । भूमिकास्थानका दश वटा वडामा रहेका दैनिक मजदूरी र अतिविपन्न घरपरिवारलाई राहत वितरण नहुँदा उनीहरु भोकै बस्न बाध्य छन् ।
जिल्लामा हालसम्म चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि झण्डै पाँच हजार घरपरिवारमा राहत वितरण गरिएको स्थानीय तहका प्रमुखले जिकिर गरेका छन् ।
हालसम्म पालिकामा २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल र सात हजार १४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

‘घरमा दूध ल्याउन छाडे’

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका –३ मा रहेको चनई स्वास्थ्यचौकीमा कार्यरत जीतबहादुर बिसी खरेन्द्रपुरमा रहेको सुपादेउराली क्वारेन्टिनमा खटिनुभएको छ । घरबाट पाँच मिनेटको दूरीमा रहेको क्वारेन्टिनमा उहाँ बस्नुभएको छ । क्वारेन्टिनमा रहेका तीन जनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको जेठ ५ गते आरटिडी गरियो । नगरका अन्य स्वास्थ्यकर्मीको नेगेटिभ आए पनि बिसीको भने पोजेटिभ आयो । उहाँमा केही पनि लक्षण नदेखिएको र साथीभाइसँग घुलमिल रहेकाले त्रास बढ्यो ।
घरमा एक वर्षको छोरा भएका कारण संक्रमणको जोखिमले गर्दा उहाँ क्वारेन्टिनमा बस्नुभएको हो । आरडिटीले उहाँलाई मानसिक तनाव बढे पनि आत्मबल भने घटेको थिएन । आरडिटी भरपर्दो नलागेपछि उहाँले जेठ ७ गते पिसिआर परीक्षणका लागि स्वाब दिनुभयो ।
स्वाबको रिपोर्ट आउन चार दिन लाग्यो । यी दिनमा उहाँको परिवारले समाजबाट दुव्र्यवहार सहनुप¥यो । “दैनिक रुपमा दूध ल्याउनेले ल्याउन छाडे, पसलमा जाँदा सामान छैन भनेर टाढै बस्न लगाइयो” बिसीले दुखेसो पोख्नुभयो”, “अहिले पिसिआर जाँच रिपोर्ट नेगेटिभ आयो तर पोजेटिभ आएको भए समाजमा बस्न गाह्रो हुँदोरहेछ । ”
स्वास्थ्यकर्मीले अहिले जोखिममा काम गरे पनि समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको भनाइ छ । “यसरी समाजले दुव्र्यवहार गर्नु कदापि राम्रो होइन ”, उहाँले भन्नुभयो, “म त स्वास्थ्यकर्मी हो, मैले बुझेको छु । सामान्य नागरिक भए अझै यहाँका नागरिकले समाजबाट निकाल्दा रहेछन् । ”
स्वास्थ्यकर्मी लेखनाथ पौडेलल अहिले नेपाल आदर्श माविको क्वारेन्टिनमा खटिनुभएको छ । । उहाँ कार्यालयबाट चार किलोमिटरको दूरीमा रहेको घरमा नगएको १४ दिन बित्यो । घर जान उहाँलाई डर छ । क्वारेन्टिनमा रहेका नागरिकको स्वास्थ्य हेरचाह र खानाको निरीक्षण गरिहनुभएका पौडेल परिवारले पिपिई सेट लगाएर मात्रै घरमा आउन अनुरोध गरेको बताउनुहुन्छ । छोरा र श्रीमतीले पटकपटक आउन भने पनि आफू सुरक्षाका लागि नगएको उहाँको भनाइ छ ।
उहाँको दिनचर्या अहिले क्वारेन्टिनमै बित्ने गरेको छ । “बिहानदेखि साँझसम्म क्वारेन्टिनमा रहन्छौँ । मसँगै पाँच जना छाँै, खाना पकाउनेहरु पनि घर जानुहुन्न, म र केही स्वास्थकर्मी विद्यालयमै बस्ने गरेका छौँ,” पौडेलले भन्नुभयो, “पहिले बिहान खाजा खाएर अफिस आउने अनि दिउँसो समय मिलाएर खाना जान्थेँ तर अहिले मलाई देख्दा परिवार र समाजका व्यक्तिले असुरक्षित महसुस गर्ने भएकाले यहीँ बस्छु । ” भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको र ती क्वारेन्टिनमा पनि नै रहने भएकाले संक्रमणको जोखिम रहेको पौडेलले बताउनुभयो ।
कोरोना परीक्षणका लागि नागरिकको स्वाब लिने काम गरिरहनुभएका स्वास्थ्यकर्मी अनन्त आचार्यको पीडा झनै बढी छ । नगरका सबै ठाउँमा पुगेर स्वाब लिने काम गर्नुभएका आचार्यको परिवार चिन्तित छ । ”पेशालाई सम्मान गर्दै सुरक्षित भएर काम गरेको छु”, आचार्यले भन्नुभयो , “परिवारले काम छाडेर घर आउन भन्छन्, तर मैले आत्मबल बढाएर काम गरेको छु, स्वाब संकलन आफैँमा असुरक्षित काम हो तर यो समयमा मैले गर्नैपर्छ । ”
परिवार र छिमेकीले असुरक्षित महसुस गर्ने भएका कारण परीक्षण शुरु भएदेखि नै आफू घरमा नगएको उहाँले बताउनुभयो । “पहिले दैनिक घरबाट आउनेजाने गरेको थिएँ, अहिले यतै क्वारेन्टिनमै बस्छु”, उहाँले थप्नुभयो, “आत्मबल बढाएर सर्तक रहेमा केही हुँदैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?