logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना कहरमा स्वास्थ्यकर्मी ‘धन्न हामीलाई कोरोना सरेन’

मुख्य समाचार |


कोरोना कहरमा स्वास्थ्यकर्मी ‘धन्न हामीलाई कोरोना सरेन’


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ १२ गते । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध स्वास्थ्यकर्मी अग्रमोर्चामा लडिरहेका छन् । मोर्चामा स्वास्थ्यकर्मी स्वयं कोभिड–१९ को सिकार भइरहेकै छन् । यद्यपि दृढ आत्मविश्वाससाथ मोर्चाको नेतृत्व सम्हालिरहेका स्वास्थ्यकर्मीको अनुभव कस्तो छ ? दैनिक बढ्दै गएको सङ्क्रमणलाई कसरी सम्हालिरहेका छन् ?
सङ्क्रमितको पहिलो सम्पर्कमा आउने स्वास्थ्यकर्मी उच्च जोखिममा छन् । सङ्क्रमणको जोखिमबाट आफ्नो सुरक्षा, नमुनाको जाँच, सङ्क्रमितको हेरचाह कसरी भइरहेको छ ?
नेपालको पछिल्लो तथ्याङ्क अनुसार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरस परीक्षण प्रयोगशालामा नमुना सङ्कलनको चाप र आइसोलेसनमा सङ्क्रमणका शङ्कास्पद बिरामी बढ्दै छन् । घर र परिवारको चिन्ता एकातिर छ । महामारीले सुम्पेको जिम्मेवारी अर्कोतिर छ । टेकु अस्पतालको आइसोलेसन वार्ड इन्चार्ज बेली पौडेलले पहिलो केस त व्यक्तिगत स्वास्थ्य सामग्री बिना नै छोएका थियौँ, धन्न हामीलाई केही भएन भन्नुभयो ।

बेली पौडेल
आइसोलेसन वार्ड इन्चार्ज तथा अस्पताल नर्सिङ निरीक्षक
कोरोनाको पहिलो केस टेकु अस्पतालमा गत पुस २८ गते आएको थियो । त्यो बेला चीनमा मात्र कोरोना भाइरस अलिअलि फैलिएको थियो । आइसोलेसन वार्डमा भर्ना भएका बिरामीलाई कोरोना होला भनेर कल्पना पनि गरेका थिएनौँ । नेपालमा कोरोना परीक्षण किटसमेत थिएन । आइसोलेसनमा भर्ना भएका व्यक्तिको स्वाब हङ्कङ पठाइयो । हङ्कङको परीक्षणमा पोजेटिभ देखिएपछि पनि हामीले त्यति वास्ता गरेनाँै किनभने हामीलाई कोरोनाबारे खासै थाहै थिएन ।
पहिलो केसमा अस्पतालका १९ जना प्रत्यक्ष सम्पर्कमा रहेछाँै । तीमध्ये एक जनालाई लक्षण देखिएपछि परीक्षण गरियो । परीक्षण नेगेटिभ देखिएपछि हामीले थप परीक्षण गरेनाँै । त्यो बेला लक्षण देखिएकालाई मात्र परीक्षण गरिन्थ्यो । पहिलो बिरामीलाई व्यक्तिगत सुरक्षा सामग्री बिना नै (ग्लोब्स, पीपीई, चस्मा) छोएका थियौँ । धन्न हामीलाई कोरोना सरेन ।
दोस्रो, तेस्रो केसबाट भने हामीले सतर्कता अपनाउन थाल्याँै । जब बुझ्दै गयाँै तब कोरोना डरलाग्दो भाइरस रहेछ भनेर डर लाग्यो । अहिले पीपीई बिना बिरामीलाई भेट्दैनाँै । सङ्क्रमण सर्ने खतरा धेरै हुन्छ । सुरु सुरुमा डर धेरै लागेको थियो । अझै पनि सरी पो हाल्छ कि भन्ने डर त भइहाल्छ तर जसरी पनि काम गर्नैपर्छ । सरकारी सेवा प्रवेश गरेको पनि २५ वर्ष भइसक्यो । धेरै बिरामी, धेरै रोगसँग जुधियो तर यो कोरोना जस्तो खतरनाक रोग अरु थिएन । सुरक्षित किसिमले काम गरिरहेका छौँ ।
आइसोलेसनमा रहेका बिरामीलाई गाह्रो पर्दा वा बिरामीले बोलाउँदा पीपीई लगाएर जाने गरेका छौँ । अन्य रोगका बिरामीभन्दा कोरोना सङ्क्रमितसँग धेरै डर हुन्छ ।

प्रसिद्ध ढकाल
ल्याब टेक्निसियन, भेरी अस्पताल नेपालगञ्ज
नेपालगञ्जमा सयौँ व्यक्तिको स्वाब सङ्कलन भइसकेको छ । कोरोनाको उच्च जोखिम भए पनि दह्रो मनोबल लिएर कोरोना विरुद्धको लडाइँमा जुटिरहेका छौँ । सुरुमा त धेरै डर लागेको थियो । अन्य खालका सङ्क्रमण र बिरामीलाई छुँदा, सँगै बस्दा सङ्क्रमण नहुने भएकाले खासै डर लाग्दैन । कोरोना सङ्क्रमितको थुकको छिटा र नजिकको सम्पर्कबाट सङ्क्रमण हुने भएकाले निकै आत्तिएका थियौँ । अहिले पूर्ण सुरक्षा अपनाएर काम गरिएकाले, पहिला जस्तो डर बोकिएको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको तालिम लियौँ । स्वाब सङ्कलन कसरी गर्ने भन्ने विषयमा थाहा भयो । गत चैतमा नेपालगञ्जको एक होटलमा साउदीबाट आएका चार जनाको स्वाब निकालिएको थियो । त्यो दिन निकै त्रासदी र चुनौतीपूर्ण लागेको थियो । उनीहरूमा कोरोना भाइरस सङ्क्रमण भए म पनि सङ्क्रमित हुन्छु होला भन्ने डर लागिरह्यो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भइयो ।
त्यसपछि फेरि दोस्रो पटक अछाममा स्वाब सङ्कलन गर्न जानुपर्ने भयो । रक्षा र स्वास्थ्य मन्त्रालयको टोलीसहित भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिको स्वाब सङ्कलन गर्नुपर्ने थियो । त्यसमा भेरी अस्पतालमा नै कार्यरत सहकर्मीसहित काम गरियो ।
अहिले फ्रन्ट लाइनमा काम गर्न गाह्रो छ । रोग सर्छ कि भन्ने डर पनि हुन्छ । त्यसैले सजग भएर काम गरिएको छ । हालसम्म उहाँ दुई हजारभन्दा बढीको नमुना सङ्कलनमा सहभागी भइसक्नुभएको छ । नेपालगञ्जमा ६० वर्षका ज्येष्ठ नागरिकमा कोरोना पोजेटिभ देखिएपछि उहाँको सम्पर्कमा रहेका ९४ जनाको स्वाब सङ्कलनसमेत गरियो । जसमा पोजेटिभ देखिएका १५ जनासँग स्वाब लिने क्रममा प्रत्यक्ष सम्पर्क भएको थियो । धार्मिक, सांस्कृतिक विविधताका कारण नेपालगञ्जमा स्वाब लिन केही समस्या पनि छ । स्वाब सङ्कलन गर्न खासै समय लाग्दैन तर निकै सजगता आवश्यक हुन्छ । करिब एक मिनेटमा एक जनाको स्वाब निकाल्न सकिन्छ ।

प्रसन्न मिश्र
ल्याब इन्चार्ज, भेरी अस्पताल
अस्पतालको ल्याबमा पीसीआर सात र चार जना नमुना सङ्कलनमा गरी ११ जनाको टिम रहेको छ । पीसीआर प्रोसेसिङमा माइक्रोबायोलोजिस्ट सन्दीप पोखरेल, सुलभ आचार्य, ल्याब टेक्निसियन प्रचण्ड गौतम, अङ्कित श्रेष्ठ, हरिशरण अधिकारी र बीएमएलटी सञ्जीव चौधरी छौँ । स्वाब सङ्कलनमा प्रसिद्ध ढकाल, केशव ज्ञवाली, शेरबहादुर साही र चिरञ्जीवी ज्ञवाली हुनुहुन्छ । भेरी अस्पताल पुरानो संरचना भएकाले सुरुमा ल्याब सञ्चालन गर्न समस्या भयो । सबै सामग्री जुटेपछि वैशाख ७ गतेबाट ल्याब सुरु गरिएको हो । स्वाब सङ्कलन गर्ने काम धेरै चुनौतीपूर्ण छ । हामीले अहिले बिहानदेखि राति ११ बजेसम्म पनि काम गरिरहेका छौँ । छिमेकी जिल्लाबाट नमुनासमेत यहीँबाट जाँच गरिरहेका छौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?