logo
२०८० चैत्र १६ शुक्रवार



भारतबाट सयौँको सङ्ख्यामा अछाम भित्रिन थाले

खुला |


भारतबाट सयौँको सङ्ख्यामा अछाम भित्रिन थाले


शिवराज ढुङ्गाना
अछाम, जेठ ९ गते । भारतले रेल सेवा सञ्चालन गरेपछि रोजगारीको क्रममा भारतमा रहेका अछामका सयाैँ बासिन्दा दैनिक रुपमा भित्रिन थालेका छन् । सुदूरपश्चिम प्रदेशका गौरीफन्टा, गड्डा चौकीलगायत नाकाबाट मानिसहरू सवारी साधन चढी र हिँडेरसमेत अछाम भित्रिन थालेका छन् ।

बुधबारबाट हालसम्म तीन दिनको अवधिमा चारसय भन्दा बढी अछाम प्रवेश गरेको तथ्याङ्क रहेको पाइएको छ । भारतबाट अछाम आएकोमा सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका ९२ जना साँफेबगर नगरपालिकाका ४६ जना, मेल्लेख गाउँपालिकाका ३७ जना र चौरपाटी गाउँपालिकाका २९ जना अछाम प्रवेश गरेको अछाम–डोटी सीमा चौखुट्टे प्रहरी चौकी इञ्चार्ज गणेशबहादुर सिंहले जानकारी दिनुभयो । उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने काम भइरहेको छ ।

बाँकेको रुपैडिहाबाट समेत मानिसहरू सवारी साधनसहित आइरहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको भनाइ छ । भारतबाट आएर नेपाल–भारतको सिमाना गौरीफन्टामा अड्किएका मानिसहरूलाई सुदूरपश्चिम प्रदेश सरकार, जिल्ला प्रशासन र सम्बन्धित स्थानीय तहको समन्वयमा उद्धार गरेर ल्याइएको बताइएको छ । केही व्यक्तिहरू भने आफैँ हिँडेरसमेत आउन थालेकोमा बताइएको छ ।

बन्दाबन्दीको क्रममा अछाम आएका सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने भएको छ । आफ्ना गाउँपालिकामा आएका सबै नागरिकलाई तोकिएबमोजिम क्वारेन्टाइनमा राखिने अध्यक्ष शर्माको भनाइ छ ।

भारत लगायत जिल्लाबाहिरबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने त्रासमा स्थानीय रहेका छन् । अन्य स्थानबाट आएका व्यक्तिहरूमा समयमै पिसिआर परीक्षण हुन नसक्दा स्थानीयमा कोरोना फैलने ठूलो डर रहेको भनाइ छ ।

भारत लगायतका स्थानबाट आउने व्यक्ति वा अन्य व्यक्ति सङ्क्रमित हुन नदिन उचित व्यवस्थापनमा आफूहरू स्थानीय तहको समन्वयमा रातदिन सक्रियताका साथ काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा आउने मानिसहरूको व्यवस्थापन, सुरक्षा र उचित उपचारमा सबै क्षेत्र क्रियाशील रहेको प्रजिअ पौडेलको भनाइ छ । अछामका ८० हजार भन्दा बढी व्यक्ति भारतमा रहेको तथ्याङ्क रहेको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?