logo
२०८० चैत्र १५ बिहीवार



१४ हजारभन्दा बढी क्वारेन्टाइनमा, १९६ जना सङ्क्रमित

प्रदेश |


१४ हजारभन्दा बढी क्वारेन्टाइनमा, १९६ जना सङ्क्रमित


प्रदेश ५ ब्यूरो
बुटवल,जेठ ८ गते । कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएपछि प्रदेश ५ मा उपचारमा अरु बढी सावधानी अपनाउन थालिएको छ । बिहीबार रुपन्देहीको मणीाग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका ४१ बर्षीय पुरुषको निधन भएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले स्थानीय सरकार, सरोकारवाला, सुरक्षाकर्मी लगायतका सल्लाह अनुसार शव व्यवस्थापन गर्ने कार्यविधि अनुसार निजको शव व्यवस्थापन गरिने बताउनुभयो । 

प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९६ पुगेको छ । यहाँ १४ हजार २ सय ६२ जना क्वारेन्टाइनमा बसेका छन् भने प्रदेशभर नौ हजार ७३९ जनाको आरडीटी परीक्षण भएको छ ।

मृतकप्रति श्रद्धाञ्जली
रुपन्देही समाचारदाताका अनुसार रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदाने–६ का कोरोना सङ्क्रमित ४१ वर्षीय पुरुषको बिहीबार निधन भएकोमा प्रदेश सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक विज्ञप्ती प्रकाशित गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले ती पुरुषको निधनले शिक्षा क्षेत्रमा समेत क्षति पुगेको बताउनु भएको छ । जेठ १ गते अस्पताल आएका ती पुरुषमा जेठ ५ गते कोरोनो पुष्टि भएको थियो ।

सङ्क्रमितहरू डेन्टल अस्पतालमा
नेपालगञ्ज र बाँके समाचारदाताहरूका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा फेला परेका ५९ जना कोरोना सङ्क्रमितहरूलाई नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटलमा राखिएको छ । उहाँहरूलाई नेपालगञ्ज ल्याउन दुई दिन लगाइएको थियो भने यहाँ ल्याएर पनि राख्ने ठाउँ निश्चित गर्न नसक्दा अहिले सबैलाई लायन्स डेन्टल आइसोलेसन अस्पतालमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार २६ जनाको क्षमता रहेको सो आइसोलेसन अस्पतालमा ५९ जना कोरोना सङ्क्रमितलाई राखिएको छ । तीमध्ये ३३ जनालाई अन्यत्र सार्ने तयारी भैरहेको पनि श्रेष्ठले बताउनुभयो ।
ती सङ्क्रमितहरूलाई लायन्स डेन्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय गरिएपनि पिपिरीका बासिन्दाको विरोधले गर्दा उनीहरूलाई त्यहाँ लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । नेपालगञ्जका २५ जना सङ्क्रमितलाई खजुरा क्यान्सर अस्पतालमा राखिएको छ भने नरैनापुरका ८ जना सङ्क्रमितलाई दाङको बेलझुन्डी अस्पतालमा राखिएको छ ।

पत्रकारहरूको कोरोना बिमा

समाचारदाताहरूका अनुसार रुपन्देहीका सैनामैना र तिलोत्तमा नगरपालिकामा कार्यरत पत्रकारहरूको कोरोना बिमा गर्ने अभियान सञ्चालन भएको छ । सैनामैनामा सैनामैना नगरपालिकाकाले एक लाख रुपैयाको बिमा गरिदिने निर्णय गरेको छ । तिलोत्तमामा स्थानीय तिलोत्तमा मिडिया क्लबले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा पत्रकारहरूको कोरोना बिमा गरेको हो । सिद्धार्थनगरमा पनि लुम्बिनी प्रेस क्लबको सकृयतामा बिमा भइरहेको छ ।

सीमाबाट उद्धार गरिँदै
प्युठान समाचारदाताका अनुसार भारतको सीमानाकामा रहेका व्यक्तिलाई जिल्लाका विभिन्न स्थानीय तहले उद्धार गरी ल्याउन थालेका छन् । भारतको सीमाबाट लुकीछिपी नेपाल भित्रिन थालेपछि उनीहरूलाई पालिकामा ल्याएर क्वारेन्टाइनमा बसाल्न थालिएको हो । ऐरावती गाउँपालिकामा पछिल्लो तीन दिनमा ९२ जना भारतका विभिन्न ठाउँबाट आएका छन् ।

अलपत्रलाई ल्याउन आग्रह
परासी समाचारदाताका अनुसार भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीलाई सुरक्षित तरिकाले नेपाल भित्राउन पश्चिमा नवलपरासीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाईनमा राख्ने गरी नेपाल ल्याउन आग्रह गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले बताउनुभयो । भारतमा लकडाउन खुकुलो पारिएसँगै नेपालीहरू नेपाल फर्कने क्रम बढदै गएको छ ।

पाल्पामा टाईम कार्ड
तानसेन समाचारदाताका अनुसार पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाउन अत्यावश्यक सवारी साधनलाई टाइम कार्ड लागू गरिएको छ । जिल्लास्थित सिसिएमसीको बैठकले लकडाउनलाई थप प्रभावकारी बनाई कोरोना भाइरस सङ्क्रमण रोक्न अत्यावश्यक सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको हो ।

छिमेकी जिल्लाहरूमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि अत्यावश्यक वस्तु खाद्यान्न, औषधि, खानेपानी, पशुपन्छीको आहार, ग्याँस र पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहनलगायतका सवारीलाई टाइम कार्ड लागू गरिएको छ । यसरी पास लिएका सवारीले यात्रु ओर्लिन र चढ्न नपाउने पास दिइएको पाल्पा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

स्वाब सङ्कलन जारी
तम्घास समाचारदाताका अनुसार गुल्मीको मदाने गाउँपालिकामा कोरोना सङ्क्रमण देखिएका व्यक्ति, परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाव सङ्कलन गरिएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं ६ का एक पुरुषमा कोरोना पुष्टि भएपछि निजको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको स्वाब सङ्कलन गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । यसैबिच मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको छ

कुहिएको चामल फिर्ता
देउखुरी समाचारदाताका अनुसार सामुदायिक वनले लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको र खान नमिल्ने भेटिएपछि स्थानीयले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ वनकट्टीका स्थानीयलाई राहत वितरण गर्न लगिएको चामल गुणस्तरहीन भएको भन्दै फिर्ता गरिएको हो । लमहीको आर.के.सप्लायर्सले बिक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहीन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोक्तालाई राहत वितरण गर्नको लागि १६४ बोरा चामल लगेकोमा १३२ बोरा चामल कुहिएको, मक्किएको अवस्थामा फेला पारेपछि फिर्ता गर्नको लागि लमही ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले जानकारी दिनुभयो ।
अहिले उक्त सप्लायर्सको चन्दन जातको चामल राखिएको गोदाम सिल गरिएको थप अनुसन्धानपश्चात सम्बन्धित निकायले कारबाही गर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?