logo
२०८० चैत्र १६ शुक्रवार



७७ वटै जिल्लामा आरडीटी परीक्षण

मुख्य समाचार |


७७ वटै जिल्लामा आरडीटी परीक्षण


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख ८ गते । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र दु्रत आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पार्नुभयो । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।
प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको दायरा बढिरहेको स्पष्ट गर्दै परीक्षणमा सङ्क्रमण नदेखिएकाहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिनुभयो । देशभर पाँच हजार १८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी उहाँले दिनुभयो ।
कोरोनाबाट नआत्तिन आग्रह गर्दै उहाँले आत्मबलले कोरोनालाई जित्ने प्रमाणित भइसकेको बताउनुभयो । हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा २८ जना उपचाररत छन् । कोरोना भाइरस रोगको सङ्क्रमण भएपछि सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवक पनि निको भएर आइतबारै घर फर्किएको बताउनुभयो ।

सहयोगका लागि डा. पुन
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका सम्बन्धमा तथ्य नबुझी समाचार आएको भन्दै तथ्य स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई कोभिड–१९ विरुद्ध सरकारद्वारा सञ्चालित अभियानमा सहयोग पु¥याउने सम्बन्धमा मन्त्रालयमा उपस्थित हुन भनिएको स्पष्ट पार्नुभयो । डा. पुनले आफू मन्त्रालयमा हाजिर भएको स्पष्ट पार्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै आफू आइतबार नै मन्त्रालयमा हाजिर भएको र यसलाई सामान्य तथा नियमित प्रक्रिया भन्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?